भारतीय कम्पनी युमेडिकाको सबै औषधि नेपाल आयातमा रोक
काठमाडौं, ३० भदौ । औषधि व्यवस्था विभागले भारतीय औषधि उत्पादक कम्पनी युमेडिकाको सबै औषधि नेपाल आयातमा रोक लगाएको छ ।
औषधिमा गम्भीर लापरबाही गरेको पाइएपछि विभागले युमेडिकाको औषधि नेपाल आयातका लागि तत्काललाई रोक लगाएको हो ।
युमेडिकाको एउटा उत्पादनको लाइसेन्स रद्द गरिएको र बाँकीलाई निलम्बन गरिएको विभागले जनाएको छ ।
युमेडिकाले नेपालमा बिक्रि गर्दै आएको युझोलिन–१००० औषधिमा गम्भीर लापरबाही गरेको पाइएपछि विभागले रोक लगाएको विभागका सूचना अधिकारी सन्तोष केसीले हाम्रो डकटर न्यूजलाई बताए ।
युमेडिकाले बाहिर युझोलिन–१००० नाम र भित्र फरक औषधि यरोक्झीम–७५० राखेर बिक्रि वितरण भएको पाइएको भन्दै रोक लगाइएको उनले बताए ।
लापरबाही गरिएको औषधिको लाइसेन्स रद्द गरिएको र युमेडिकाको बाँकी उत्पादन निलम्बन गरिएको पनि उनले बताए ।
उनले युमेडिकाको जुन औषधिमा लापबारही गरेको पाइएको र त्यो उत्पादनलाई अहिले रद्द गरिएको भन्दै केसीले बाँकी उत्पादनको लाइसेन्स भने पछि स्वीकृति भयो भने निरन्तरता दिने किसिमले निलम्बन गरिएको पनि जानकारी गराए ।
युमेडिकाले औषधिमा गम्भीर लापरबाही गरेको पाइएपछि लेबलिङ इरर रहेको भन्दै विभागले बिक्रि वितरण तत्काल रोक्न तथा आपूर्तिकर्तालाई फिर्ता गर्न निर्देशन दिएको थियो ।