दार्चुलामा पहिलो पटक बालकमा कोरोना संक्रमण पुष्टि
दार्चुला, ३० भदौ । दार्चुलामा सोमबार दुई जना बालकसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्यविद्ले कोरोनाको तेस्रो लहरको खतरा देखाइरहेको बेला जिल्लामा सोमबार दुई जनाबालक सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला अस्पताल दार्चुलामा आठ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।
जिल्ला अस्पताल दार्चुलामा पुगेका अढाई वर्षीय र ४ वर्षीय बालकमा एन्टिजेन पोजेटिभ देखिएको जिल्ला अस्पताल दार्चुलाका चिकित्सक आदर्श लिम्बुले बताए । जिल्लामा बालकहरुमा कोरोनाको लक्षण देखिएको यो पहिलो केस हो । उनीहरुमा कोरोनासँग मिल्दोजुल्दा लक्षण सबै देखिएपछि एन्टिजेन परीक्षण गरिएको थियो । बालबालिकामा रुघाखोकी, ज्वरो, लगायतका कोरोनाका लक्षण देखिएको बताइएको छ ।
तेस्रो भेरियन्टले बालबालिकालाई बढी असर गर्ने जनस्वास्थ्यविद्ले भनिरहेको बेला जिल्लामा बालबालिकामा कोरोना संक्रमण देखिएपछि चिन्ताको विषय बनेको छ ।
कोरोना बढ्ने लक्षणदेखिएसँगै जिल्ला अस्पतालले १० ब्याडसहितको आइसोलेसन वार्ड तयार गर्न थालेको डाक्टर लिम्बुले बताए । अहिले मौसममा आएको परिवर्तनको कारण पनि जिल्ला अस्पताल लगायत स्वास्थ्य संस्थाहरुमा विरामीको भीड बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।