भरतपुर अस्पतालको ओपीडी समय बढ्यो, असोजदेखि बिहान ९ बजेबाटै सञ्चालन हुने



Download our app to get more features

चितवन, २८ भदौ । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा ओपीडीमा बिरामी जाँच गर्ने समय विस्तार गरिएको छ । 

बिरामीहरुको चाप र उनीहरूको सुविधालाई मध्यनजर गरि ओपीडी सेवाको समय विस्तार गरी असोज १ गतेदेखि बिहान ९ बजेबाटै सञ्चालन गर्ने निर्णय गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) प्रा.डा. कृष्ण पौडेलले जानकारी दिए ।

यसअघि बिहान १० बजेदेखि ३ बजेसम्म सञ्चालन हुँदै आएको ओपीडी सेवालाई विस्तार गरी एक घण्टा अघिबाट नै सञ्चालन गर्न लागिएको हो । 

उता ओपीडी टिकट काट्ने समय समेत बढाइएको छ । बिरामीको चाप र टाढादेखि सेवा लिन आउने सेवा ग्राहीहरूलाई समेत मध्यनजर गरी एक घण्टा समय थप गरिएको छ । यसअघि बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुँदै आएको ओपीडी टिकट काट्ने समय बढाइँ मध्याह्न १२ बजेसम्म पुर्‍याइएको मेसु प्रा.डा. पौडेलले जनाए । यसले लामो समय लाइनमा बस्नुपर्ने समय घट्नुको साथै बिरामीलाई छिटो छरितो सेवा लिन सहज हुने उनको विश्वास छ ।

ओपीडीमा हुने लाइनलाई छिटो र छरितो गराउनका लागि अन्य प्रविधिगत सुधार पनि थालिएको उनले जानकारी दिए । अन्य ठाउँहरूमा हुने लाइन तथा भीडभाडलाई समेत कसरी व्यवस्थापन गर्ने भन्ने बारे छलफल भइरहेको उनले बताए ।

अस्पतालको अहिलेको प्रमुख समस्या बिरामीको भीड व्यवस्थापन समेत रहेको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले बताए ।

बिरामीको चाप बढ्दा सेवा ग्राहीले घण्टौं कुर्नु पर्ने समस्या छ । यसरी ओपीडी समय विस्तार गर्दा बिरामीलाई राहत पुग्ने उनले विश्वास व्यक्त गरे । यसले कोभिड समयमा हुने भीडभाडबाट संक्रमण फैलन सक्ने जोखिम समेत कम हुने उनले बताए ।

नेपालको मध्यभागमा अवस्थित यस भरतपुर केन्द्रीय अस्पतालमा चितवनसहित नवलपरासी, गोरखा, धादिङ, मकवानपुर, बारा, तनहुँ, लम्जुङ, रुपन्देही सहितका १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् ।

यस्तो हुन्छ भरतपुर अस्पतालको ओपीडीमा भीड :

Last modified on 2021-09-13 12:43:34

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts