प्रस्तावित दरबन्दी सच्याउन चिकित्सक संघको माग
काठमाडौं, २७ भदौ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा प्रस्तावित गरिएको दरबन्दी अबिलम्ब सच्याउन नेपाल चिकित्सक संघले माग गरेको छ । बागमती प्रदेशमा स्वास्थ्य मन्त्रालयको स्थापना गरेर केन्द्रीकृत शासन पद्धतिलाई विकेन्द्रीकृत गरी स्वास्थ्य सेवालाई सबैको पहुँचमा पु¥याउने प्रयास अत्यन्तै प्रशंसनीय भए भए पनि संघीय मन्त्रालय तथा अन्य प्रादेशिक मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वदायी भूमिका चिकित्सकबाट भइरहेको अवस्थामा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा चिकित्सकको दरबन्दी नै नराखी प्रस्तावित दरबन्दी तेरिज सार्वजनिक भएकोप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
‘त्यसैले अविलम्ब चिकित्सक तथा स्वास्थ्यकर्मीकै नेतृत्वमा स्वास्थ्य मन्त्रालय सञ्चालन हुनु पर्ने र सोही बमोजिमको मेडिकल अधिकृत सहित विशेषज्ञ चिकित्सकहरुको दरबन्दी सुनिश्चित गरी महाशाखा, विभाग, शाखाको उचित व्यवस्था गर्ने गरी हाल प्रस्तावित गरिएको दरबन्दी अबिलम्ब सच्याउन यस संघ नेपाल सरकार तथा प्रादेशिक सरकार समक्ष जोडदार माग गर्दछ,’ महासचिव डा. बद्री रिजालद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।