यही साता चीनबाट ४४ लाख मात्रा भेरोसेल आइपुग्ने



Download our app to get more features

काठमाडौं, २७ भदौ । चीनबाट आगामी बिहीबारसम्म कोरोनाविरुद्ध भेरोसेल खोपको ४४ लाख मात्रा आउने भएको छ।

सरकारले चीनसँग पछिल्लो पटक ६० लाख मात्रा भेरोसेल खोप खरिद गरेको थियो, जसमध्ये १६ लाख मात्रा भदौ ४ र ५ गते नै आइसकेको छ। अब आउन लागेको बाँकी ४४ लाख मात्रा हो जुन ३१ गतेसम्म आइपुग्ने सरकारी अधिकारीहरूले बताएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार ३० गते हवाईजहाज चीन जाने र ३१ गते खोप लिएर आइपुग्ने तयारी गरिएको छ।

टेकुस्थित केन्द्रीय भण्डारण कक्षमा कोरोनाविरुद्धको खोप रित्तिएको बताइएको छ।

हालसम्म नेपालमा  भारतबाट कोभिसिल्ड २४ लाख ४८ हजार मात्रा, चीनबाट विभिन्न चरणमा ७४ लाख मात्रा भेरोसेल, अमेरिकाबाट १६ लाख मात्रा जोन्सन एन्ड जोन्सन, जापानबाट १७ लाख ७७ हजार ३ सय २० मात्रा अस्ट्राजेनेका खोप आएको छ।

भने आगामी असोजमा गाभीमार्फत १ लाख मात्रा फाइजर खोप आउने बताइएको छ। फाइजर खोप भण्डारण गर्न मिल्ने ४ वटा रेफ्रिजरेटर कोभ्याक्सअन्तर्गत युनिसेफले नेपाललाई दिइसकेको छ।

यही वर्षको अन्तिमसम्ममा फाइजरको  ६० लाख मात्रा र मोडर्नाको ४० लाख मात्रा गरी १ करोड मात्रा खोप आउने बताइएको छ। यी खोप १८ वर्षमुनि उमेर समूहलाई लगाउने सरकारले बताउँदै आएको छ।

हालसम्म १७ प्रतिशतले कोभिडविरुद्ध पूर्ण खोप र १९ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन्।

देशभरिमा अहिलेसम्म पूर्ण मात्रामा खोप लगाउनेहरूको संख्या ५१ लाख ६० हजार नाघेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। खोपको पहिलो मात्रा मात्र लगाउनेको संख्या ५७ लाख ६९ हजार नाघेको छ।

Last modified on 2021-09-13 10:19:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts