फाइजरको 'काेभिनाट्री' खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति



Download our app to get more features

काठमाडौं, २७ भदौ ।  नेपालमा कोरोना विरुद्धको अर्को खोपले पनि आपतकालिन प्रयोगको लागि अनुमति पाएको छ।

औषधि व्यवस्था विभागले  कोभिड-१९ विरुद्धको खोप फाइजर बायोएनटेकको 'कोभिनाट्री' खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो। विभागका महानिर्देशक नारायणप्रसाद ढकालले  खोप ल्याएर प्रयोग गर्नका लागि आपतकालीन अनुमति दिइएको बताए ।

कोभिडका खोपमध्ये फाइजर खोप धेरै देशमा प्रयोग भइरहेको खोप हो । सबैभन्दा अगाडी आएको र अमेरिकामा समेत यो खोप पहिलो रोजाइमा रहेको देखिन्छ। माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने भएकोले नेपालमा अहिलेसम्म यस्तो खोपको प्रयोग अहिलेसम्म भएको थिएन ।

सरकारले १२ बर्ष माथिका बालबालिकालाई समेत प्रयोग गर्ने गरी ६० लाख डोज फाइजर खोप खरिद गर्ने योजना अघि सारेको छ। कोभ्याक्स सुविधाबाट समेत यो खोप नेपालले प्राप्त गर्ने बताइएको छ ।

अक्टोबरसम्म नेपालमा १ लाख डोज फाइजर खोप आउने यस अघि नै स्वास्थ्य सेवा विभागले जनाएको छ। त्यसका लागि नेपालमा कोभ्याक्स सुविधा अन्तर्गत युनिसेफले ४ वटा फ्रिजसमेत दिइसकेको छ।

नेपालमा यसअघि नै फाइजर बाहेक भारतमा उत्पादित कोभिसिल्ड, कोभ्याक्सिन, चीनमा उत्पादित भेरोसेल र कोरोना भ्याक, वेलायतमा उत्पादित अस्ट्राजेनिका, अमेरिकी कम्पनीले उत्पादन गरेको जोन्सन खोपले आपतकालिन प्रयोगको अनुमति पाइसकेको छ ।

Last modified on 2021-09-12 19:44:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts