भरतपुर अस्पतालको सूचना अधिकारीमा गोपाल पौडेल चयन
चितवन, २५ भदौ । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालको सूचना अधिकारीको जिम्मेवारी गोपाल पौडेललाई दिइएको छ ।
सोही अस्पतालमा कार्यरत पौडेललाई शुक्रवारदेखि सो जिम्मेवारी दिईएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्ण पौडेलले जानकारी दिए । उनले यसअघि पनि लामो समय सो जिम्मेवारी सम्हाली सकेका छन् ।
सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ६ मा भएको व्यवस्था अनुसार अस्पतालको सूचना प्रवाह गर्ने प्रयोजनको लागि उनलाई अर्को व्यवस्था नहुँदासम्मको लागि सो जिम्मेवारी तोकिएको उनले बताए ।
सूचना अधिकारीको लागि मोवाईल नं. ९८५५०९२२८० व्यवस्था गरिएको छ । पौडेललाई सूचना अधिकारीको कामकाज गर्दा अस्पतालको प्रवक्तासँग समेत समन्वय गर्न अनुरोध गरिएको छ ।
यसअघि सो अस्पतालको सूचना अधिकारीमा लिलाधर पौडेल रहेका थिए । उनीले दुइ पटकसम्म सो जिम्मेवारी सम्हाल्ने अवसर पाए । उनले कोरोना कहरको पहिलो र दोस्रो लहर दुवैमा लामो समय आफ्नो जिम्मेवारी कुशलता पूर्वक सम्हालेका थिए । अहिले अस्पतालका प्रवक्तामा सोही अस्पतालमा कार्यरत वरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधि बसौला रहेका छन् ।
उता, अस्पतालको सम्पूर्ण सूचना तथा जानकारी दिने उद्देश्यले मासिक बुलेटिन प्रकाशन समिति समेत गठन गरिएको छ । जसको संयोजक प्रवक्ता डा. बसौला रहेका छन् ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।