फाइजर खोप भण्डार गर्न माइनस ८० डिग्रीसम्म राख्न मिल्ने चारवटा फ्रिज ल्याइयो
काठमाडौं, २५ भदौ । फाइजर खोप भण्डारणका लागि माइनस ८० डिग्री सेल्सियस तापक्रमसम्म फ्रिज गर्न मिल्ने चारवटा फ्रिज नेपाल ल्याइएको छ।
कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध ती फ्रिज युनिसेफमार्फत प्राप्त भएका हुन्। यी फ्रिजमा माइनस ८० डिग्री सेल्सियस तापक्रमसम्मका खोप भण्डारण गर्न सकिने बताइएको छ।
नेपालले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई दिन भन्दै ६० लाख डोज फाइजर खोप
अमेरिकाबाट खरिद गर्ने सम्झौता भएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० लाख डोज आगामी डिसेम्बरमा र १० लाख डोज जनवरीमा आउने तालिका रहेको उल्लेख गरेको छ।
फाइजर खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ। नेपालमा अहिलेसम्म त्यस खालको भण्डार कक्ष छैन।
कोभ्याक्स सुविधामार्फत नेपाललाई प्राप्त भएका ४ वटा फ्रिज विमानस्थल भन्सारमा राखिएका छन्। फाइजर खोपलाई माइनस ६० देखि ८० डिग्री तापक्रममा ६ महिनासम्म भण्डारण गर्न सकिन्छ। फाइजरका लागि माइनस ६० देखि ८० (अल्ट्रा कोल्ड चेन) डिग्री तापक्रम र मोडर्नाका लागि माइनस १५ देखि २० डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ।
सरकार कम्तीमा १० लाख डोज फाइजर खोप भण्डारण गर्न मिल्ने गरी खोप भण्डार कक्ष विस्तार गर्ने तयारीमा छ।
नेपालमा अहिलेसम्म कोभिसिल्ड, भेरोसेल, एस्टाजेनेका, जानसनलगायत खोप भण्डारण तथा प्रयोग भइरहेका छन्। ती खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने बताइएको छ।