५० लाख सकेर गेटाको कोरोना स्याहार केन्द्र बन्द
धनगढी, २३ भदौ । कैलालीको गेटामा निर्माणाधिन मेडिकल कलेज भवनमा २ हजार बेड क्षमताको आइसोलेसन बनाउने भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको मातहतमा सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा यसअघि आइसोलेसन निर्माण गर्ने निर्णय गरिएको थियो।
तर लामो समयसम्म आइसोलेसन निर्माणले पुर्णता पाउन सकेन। लामो समयको जनदबाबपछि ५० बेड क्षमताको २०७८ जेठ ९ गते कोभिड १९ स्याहार केन्द्र नामाकरण गरेर आइसोलेसन सञ्चालनमा त आयो। तर स्याहार केन्द्र सञ्चालनमा आएको २ महिना नपुग्दै बन्द गरिएको छ। स्याहार केन्द्रमा महिनामा प्रति व्यक्ति २७ हजार दिने गरी २० जना कामदार समेत राखिएको थियो। तर बिनाकारण स्याहार केन्द्र बन्द गरिएपछि जोखिम मोलेर काम गरेको पैसा नपाएको भन्दै स्याहार केन्द्रमा कार्यरत मजदुरहरु यतिबेला विरोधमा छन्। स्याहार केन्द्रमा कार्यरत कृष्णा साउँदले एक महिना ७ दिन काम गरेको पैसा नपाएको गुनासो गरिन्।
‘पैसाका लागि गोदावरी नगरपालिकासँग माग्दा गोदावरीले यसका संयोजक धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड हुन, उनैले पैसा दिने हुन भनेपछि वडलाई सम्पर्क गर्दा मेयर सापले मैले काम राखेको होइन भनेर जवाफ दिए’ उनले प्रश्न गर्दै भनिन्, ‘अब हामीलाई काम गरेको पैसा कसले दिने हो रु’ ९ जना त महिला कार्यरत स्याहार केन्द्रमा प्रति व्यक्ति महिनाको २७ हजार दिने भनेर काममा लगाइएको साउँदले बताइन्। ‘अब अहिलेसम्म एक पैसा पनि नदिएर स्याहार केन्द्र पनि बन्द गरियो र हामीलाई पनि कामबाट हटाइयो’ उनले गुनासो गर्दै भनिन्। जोखिम मोलेर काम गरेका श्रमिकले अहिलेसम्म कहिकतैबाट पारिश्रमिक प्राप्त गर्न नसकेको स्याहार केन्द्रमा कार्यरत अर्का मजदुर तीलक भण्डारी बताउँछन्। ‘२० जना मजदुरले रातदिन जोखिम मोलेर स्याहार केन्द्रमा काम गरेका छन् तर अहिले स्याहार केन्द्र नै बन्द गरेर श्रमिकको रोजीरोटीमा लात हान्ने काम भयो’ उनले भने, ‘स्याहार केन्द्रका लागि ५० लाख आएको थियो तर त्यो पैसा कहाँ के काममा खर्च भयो थाह भएन।’ जोखिम बढेका बेला गरेको श्रमको अपमान गर्ने काम भएको उनको गुनासो छ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्रको मातहतमा रहने गरी आइसोलेसन तयार गर्ने भन्दै जिम्मेवारी वाँडफाँड गरिएको भएपनि प्रदेश सरकार, धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको काम गराइको कार्यशैलीलाई हेर्दा प्रचार गरिए जसरी आइसोलेसन सञ्चालन नहुँदै बन्द गरिएको छ। आइसोलेसन सञ्चालनका लागि २५ लाख धनगढी उपमहानगरपालिका र २५ लाख गोदावरी नगरपालिकालाई प्रदेश सरकारले बजेट पठाएको थियो। स्याहार केन्द्र व्यवस्थापनको नाममा ५० लाख रुपैयाँ डुबाएर स्याहार केन्द्र बन्द गरिनुका साथै बिना पारिश्रमिक मजदुरलाई खाली हात घर पठाइएको गलत भएको बताइन थालेको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मातहत रहने गरी सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिकाको सहकार्यमा स्याहार केन्द्र सञ्चालनमा आएको थियो।
आवश्यक जनशक्ति, अक्सिजन, उपकरणलगायतको तयारी गरेर स्याहार केन्द्र सञ्चालनमा ल्याएको भएपनि स्याहार केन्द्रका संयोजक रहेका धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले बैठक बस्नै नमानेपछि स्याहार केन्द्रमा भएको खर्च र कार्यरत कामदारको भुक्तानी गर्न समस्या भएको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउँद बताउँछन्। ‘स्याहार केन्द्रका संयोजक धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड हुन्, अहिले कांग्रेसको अधिवेशनको तयारीमा रहेकाले पछि बसौला भन्नुभएको छ’ उनले भने, ‘गोदावरी नगरपालिकाको स्याहार केन्द्र स्थापनामा धेरै नै खर्च भइसकेको छ। धनगढीका मेयरको फुर्सद हुने बित्तिकै बैठक बसेर छलफल हुन्छ।’