कोरोनाबाट मृत्यु हुनेको संख्या घट्दो,२४ घन्टामा १ लाख बढीले लगाए कोरोना खोप
काठमाडौं, २३ भदौ । नेपालमा थप १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १० जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ८ सय ८९ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ सय ७९ रहेको छ । जसमा २७ हजार ६ सय ९० जना होम आइसोलेसनमा छन् भने १ हजार ७ सय ८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
यस्तै हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ४ सय ८८ जना आईसीयूमा उपचाररत छन् भने १ सय ४० जना भेन्टिलेटरमा भर्ना भएका छन् ।
त्यस्तै गत २४ घन्टामा देशभर १ लाख ३२ हजार २ सय ८६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन । योसँगै कोरोना विरुद्धको दुबै डोजको खोप लगाउने संख्या ५० लाख ५६ हजार ८ सय ३ पुगेको छ ।