राजमार्ग अवरुद्धपछि धौलागिरी अस्पतालमा अक्सिजन अभाव
बागलुङ, २३ भदौ । एक सातादेखि पोखरा–बागलुङ राजमार्ग अवरुद्ध भएपछि धौलागिरीवासीलाई सकस भएको छ । हप्ता दिनदेखि सडक अवरुद्ध हुँदा गम्भीर बिरामी र अस्पतालले रेफर गरेकालाई काठमाडौं- पोखरा लैजान हेलिकोप्टर चार्टर गर्नुपरेको छ भने अन्य अत्यावश्यक सामग्रीको समेत अभाव हुन थालेको छ ।
धौलागिरी अस्पतालमा आवश्यक अक्सिजन, औषधि तथा अन्य स्वास्थ्य सामग्री समेत आपूर्तिमा समस्या हुन थालेको छ । पहिरोले सडकसँगै विद्युत र इन्टरनेट सेवा अवरुद्ध हुँदा धौलागिरी अस्पतालमा अक्सिजनको अभाव हुन थालेपछि त्यसको व्यवस्थापनमा निकै कठिन भएको धौलागिरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बी पोखरेलले बताए ।
नियमित विद्युत सेवा आपूर्ति नहुँदा अस्पतालमा रहेको अक्सिजन प्लान्टले काम गर्न छोडेको र स्टकमा रहेका सिलिण्डर समेत सकिन थालेपछि त्यसको व्यवस्थापनमा मेसु विक आफै अक्सिजन व्यवस्थापनमा खटेका छन् ।
डा.पोखरेल आफै पोखरा पुगेर राजमार्गको पर्वत खण्डमा अवरुद्ध सडकको केही वैकल्पिक मार्ग र केही स्थानमा बोकेरै अस्पतालमा २५ सिलिण्डर अक्सिजन ल्याइएको छ ।
पोखराबाट मंगलबार बिहान लोड गरेको अक्सिजन बुधबार बिहान मात्रै धौलागिरी अस्पतालमा ल्याइएको डा.पोखरेलले बताए । सिलिण्डर तार्नका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ गण पर्वत र नेपाल प्रहरीले सहयोग गरेको थियो ।
नियमित विद्युत आपूर्ति नहुँदा संचालनमा रहेको अक्सिजन प्लान्टले अक्सिजन उत्पादन गर्न छोडेको र नयाँ अक्सिजन प्लान्ट निर्माण कार्य बल्ल सुरु भएकाले तत्कालका लागि अक्सिजन व्यवस्थापन चूनौतिपूर्ण बनेको पोखरेलले बताए ।
संक्रमितको संख्या कम भएपनि सम्भावित जोखिमलाई मध्यनजर गरी अक्सिजन सिलिण्डर जोहो गरेको अस्पतालले जनाएको छ । थप १३ वटा सिलिण्डर भर्नका लागि पोखरा पठाइएको छ । अस्पतालमा जतिबेला पनि अक्सिजन लगाउनु पर्ने बिरामी आउन सक्ने भएकाले त्यसको पूर्ववत व्यवस्थापन गरिएको छ ।