११ वर्षपछि डब्लुएचओको क्षेत्रीय बैठक नेपालमा गर्न पाउदा हर्षित छौं : स्वास्थ्य राज्यमन्त्री
काठमाडौं, २० भदौ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ११ वर्षपछि डब्लुएचओको क्षेत्रीय बैठक नेपालमा गर्न पाउदा खुशी भएको बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको भर्चुअल बैठकमा श्रेष्ठले भदौ २१ गतेदेखि नेपालमा हुन लागेको डब्लुएचओको क्षेत्रीय बैठकको आयोजकको जिम्मेवारी बहन गर्न पाउदा हर्षित भएको बताएका हुन् ।
डब्लुएचओको क्षेत्रीय बैठकमा सार्वजनिक स्वास्थ्य आपत्कालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण, नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गतिदिने र भाइरल हेपाटाइटिस, एचआइभी र यौन रोगहरूको उन्मूलनलगायत विषयमा छलफल हुनेछ।
यस्तै बैठकमा स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगका लागि खोपकार्य योजनाका लागि क्षेत्रीय कार्यढाँचाका बारेमा पनि छलफल हुनेछ। बैठकले यसभन्दा अगाडि आयोजना गरिएका बैठकमा अनुमोदन गरिएका व्यवस्थामा भएका प्रगतिको लेखाजोखा गर्नेछ ।
यही भदौ २१ देखि २५ सम्म काठमाडौँमा हुने बैठकमा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा ट्रेडोस अधानम घेब्रेयेसस, क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंह, क्षेत्रका सदस्य मुलुकका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य अधिकारीहरू, संयुक्त राष्ट्रसङ्घका निकायलगायत संस्थाका प्रतिनिधिको उपस्थिति रहनेछ ।