कञ्चनपुरमा जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्रै शैक्षिक संस्थाले पठनपाठन गर्न पाउने
कञ्चनपुर, १९ भदौ । कञ्चनपुरमा जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्रै शैक्षिक संस्था खुला गर्न पाउने भएको छ। कोभिड १९ संकट व्यवस्थापन समितिले भौतिक उपस्थितिमा पठनपाठन गर्न चाहने शैक्षिक संस्थाले अनिवार्य जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेद्वारा जारी गरिएको आदेशमा पहिलो प्राथमिकता सकेसम्म भर्चुअल माध्यमबाट पठनपाठन गर्न गराउन आग्रह गरिएको छ। यदि भौतिक उपस्थितिमै शैक्षिक संस्था सञ्चालन गर्नुपर्ने अवस्था आए नेपाल सरकारले तोकेको स्मार्ट लकडाउनको कार्यविधिभित्र रही जनस्वास्थ्यका मापदण्डको कडाइका साथ पालना गर्ने गरी शैक्षिक गतिविधि सञ्चालन गर्न पाइने बताइएको छ।
भौतिक उपस्थितिमा शैक्षिक गतिविधि सञ्चालन गर्दा त्यसको अनुगमन स्थानीय तहले गर्नुपर्ने र स्वास्थ्य मापदण्ड अपनाएको नभेटिए स्थानीय तह आफैं वा स्थानीय प्रशासनको सहयोग लिई त्यस्ता शैक्षिक संस्था तत्काल बन्द गराउने गरी सञ्चालनको निर्णय गर्न सक्ने प्रमुख जिल्ला अधिकारी पाण्डेद्वारा जारी आदेशमा उल्लेख छ।
विश्वभर फैलिँदै गइरहेको नयाँ भेरिअन्ट सहितको कोभिड १९ को सङ्क्रमण रोकथाम, नियन्त्रण, निदान तथा उपचारका लागि कञ्चनपुर जिल्लामा बैशाख १६ गतेदेखि लागू गरिएको निषेधाज्ञा क्रमिक रूपमा खुकुलो पारिएको थियो। यद्यपि सङ्क्रमणको जोखिम अझै कायम रहेकोले अनावश्यक रूपमा मानिसहरू जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, सामूहिक रूपमा पूजा अर्चना गर्ने, जात्रा, महोत्सव, भोजभतेर आदि जस्ता गतिविधिहरूलाई निरुत्साहित गरिएको छ।