भारतबाट फर्केकालाई गड्डाचौकीमै कोरोनाको खोप लगाइँदै
कञ्चनपुर, १८ भदौ । पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतबाट स्वदेश फर्कने नेपालीलाई नाकामै कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ। सीमानाकामा रहेको हेल्थ डेस्कमा केन्द्र राखेर एक सातादेखि खोप लगाउन सुरु गरिएको हो।
भारतबाट फर्कने १८ वर्ष माथिका नेपालीलाई अस्ट्राजेनेका खोप लगाइरहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए। ‘एक सातादेखि खोप लगाउन सुरु गरिएको हो,’ कार्यालय प्रमुख सुनारले भने, ‘हालसम्म भारतबाट फर्कने ३ सयभन्दा बढीलाई खोपको पहिलो मात्रा दिइएको छ।’
सीमानाकामा खोपको पहिलो मात्रा पाउनेले दोस्रो मात्रा सम्बन्धित जिल्लामा लगाउने व्यवस्था गरिएको छ। भारतबाट दैनिक गड्डाचौकी भएर ५० जनाभन्दा बढी स्वदेश फर्कने गरेका छन्।
सीमामा आइपुगेकाहरूले भारतमा खोप लगाए नलगाएको निर्क्योल गरेपछि मात्र खोप लगाइने गरेको छ। सिकिस्त र दीर्घरोगीलाई भने खोप नलगाउने गरेको स्वास्थ्यकर्मीले बताएका छन्।
स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार हालसम्म कञ्चनपुरमा १ लाख ७ हजार १ सय ६३ जनाले खोपको पहिलो मात्रा लगाएका छन्। ६४ हजार ७ सय ९५ जनाले खोपको दोस्रो मात्रा लगाएका छन्। यसैगरी, ८७ हजार ५८ जनाले खोपको पूर्ण मात्रा लगाएका छन्, जसमध्ये २७ हजार ४ सयले जोन्सन एन्ड जोन्सन खोप लगाएका छन्। जोन्सन एन्ड जोन्सनको खोप भने एक मात्रा नै पूर्ण मात्राको खोप हो।
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा कोरोनाविरुद्ध ४ लाख १ हजार ३३ जनाले खोपको पूर्ण मात्रा लगाएको कार्यालयले जनाएको छ।