कोरोना नेगेटिभ आए स्क्राब टाइफसको जाँच गर्न मन्त्रालयको आग्रह
काठमाडौं १८ भदौ । कोरोना लाग्दा र स्क्राब टाइफस हुँदा देखिने लक्षण मिल्दोजुल्दो हुने गरेको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोना र स्क्राब टाइफसको लक्षण मिल्दोजुल्दो हुने हुँदा कोरोना नेगेटिभ आए स्क्राब टाइफसको जाँच गर्न आग्रह गरेको छ ।
स्क्राब टाइफस के हो ?
स्क्राब टाइफस ओरिन्सिया सुसुमासी जीवाणुले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्छ ।
समयमै उपचार नगरे यसले गम्भीर रुप लिन सक्छ,जस्तै मस्तिष्क,कलेजो,फोक्सो,आदिको संक्रमण र कहिलेकाहीँ बहुअंग विकार मल्टी अर्गन डिस्फंसन को अवस्था पनि सिर्जना हुन सक्छ ।
स्क्राब टाइफस मानिसमा कसरी सर्छ ?
मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोके यो रोग मानिसमा सर्छ ।
स्क्राब टाइफसका लक्षणहरु
उच्च ज्वरो आउनु ।
धेरै टाउको दुख्नु ।
जोर्नी र मांसपेशी दुख्नु ।
खोकी,वान्ता,पेट दुखाइ र पखालाले सताउनु ।
आँखा रातो हुनु ।
टोकेको ठाउँमा कहिलेकाहीँ कालो दाग देखिनु
बिमिरा देखिनु ।
सास फेर्न समस्या हुनु ।
स्क्राब टाइफसबाट बच्ने उपाय
किर्नाको टोकाइबाट बच्न खेत,झाडी वा वनजंगल जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुता लगाउने र शरीरको खुल्ला भागमा किटनासक मलमको प्रयोग गर्ने ।
घर वरिपरिका खेतबारीमा घाँसहरु धेरै बढ्न नदिने र वातावरण सफा राख्ने ।
मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने ।
स्क्राब टाइफस समयमै पहिचान गरी औषधि खानाले निको हुने गर्दछ ।