कोभिडका कारण रगतको उच्च माग, भ्याक्सिनले गर्दा संकलनमा अवरोध



Download our app to get more features

भक्तपुर, १८ भदौ । कोरोनाका कारण भक्तपुरका रेडक्रसद्वारा सञ्चालित रक्तसंचार सेवामा रगतको माग उच्च छ । तर कोरोनाको खोप लिएका रक्तदाताहरुले दुई हप्तासम्म रगत दान दिन नमिल्ने भएका कारण रगत अभाव भएको भक्तपुर रेडक्रसका शाखा प्रमुख उमा थापाले बताइन् ।

थापाका अनुसार अहिले रगतको माग उच्च छ तर माग पूरा गर्न सकिएको छैन । मागको आधा ५० प्रतिशत रगत मात्र पुर्ति भैरहेको उनले बताइन् । रेडक्रसले विभिन्न सहयोगी संस्थासँग सहकार्य गरी कार्यक्रम संचालन गरी रगत संकलन गर्ने गरेको थियो । तर कोरोनाका कारण रक्तदान कार्यक्रम संचालन गर्न नसकिएको, रगत संकलनमा कमी आएको र दाताहरुले पनि कोरोनाविरुद्धको खोपका कारण दान दिन नसकेकाले रगत अभाव भएको उनले बताइन् ।

थापाले मानिसहरुमा चेतनाको कमी रहेकाले सीमित रक्तदाताहरुले मात्र रगत दान गर्ने र माग चाहिँ बढी भएकाले जनचेतनासहितको रक्तदान कार्यक्रम सञ्चालन गरिरहेको बताइन् । कोही रक्तदाताहरुले आफुले दान गरेको रगत खोज्न आउने र निःशुल्करुपमा पाउनुपर्ने जिकिर गर्छन्, त्यस्ता बिरामीको परिवारलाई राम्रोसँग बुझाएर पठाउने गरिएको उनले बताइन् ।

दाताले दान गरेको रगत एच.आई.भी, एच.पि.वी, हेपाचार्ट, र विभिन्न समूहमा छुट्याएर मात्र मेसिनमा भण्डारण हुने गर्छ । मेसिनमा पुगेपछि एण्टीसेरा प्रयोग गरी रगतलाई सुरक्षित राखिने भएकाले रगतको न्यून शुल्क लिने गरेको थापा बताउँछिन् ।

भक्तपुर शाखाबाट गत वर्ष ४० हजार ८ सय ९१ पिन्ट रगत बिरामीहरुलाई वितरण गरेको तथ्यांक छ । यो अघिल्लो वर्षको भन्दा कम हो । भक्तपुर रक्तसंचारका इन्चार्ज प्रेम अधिकारीका अनुसार अस्पतालहरुले चाहिनेभन्दा बढी रगत बिरामीका आफन्तसँग मगाउने र उपयोग नभएका रगत फिर्ता नगर्ने भएकाले पनि रगत अभाव बढी देखिएको हो ।

Last modified on 2021-09-03 10:53:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts