अक्टोबरभित्र फाइजर खोपको एक लाख मात्रा आउने
काठमाडौं, १७ भदौ । अक्टोबरभित्र नेपालमा फाइजर खोपको एक लाख मात्रा आउने भएको छ।
द ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन (गाभि) मार्फत अनुदानस्वरूप फाइजर खोपको एक लाख मात्रा आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए।
गाभीले नेपालमा यो फाइजर खोप ट्रायलस्वरूप अनुदानमा दिन लागेको हो। ‘हुन त सेप्टेम्बरमा नै फाइजरको एक लाख मात्रा आउने कुरा थियो तर प्रविधिक कारणले अक्टोबरमा आउने भएको छ,‘ उनले भने।
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका अनुसार फाइजर खोप भण्डारका लागि हाल नेपालमा भएको भण्डारण कक्षले नहुने र त्यसको लागि युनिसेफले खोप भण्डारण गर्न मिल्ने रेफ्रिजरेटर दिएपछि मात्र सो खोप आउने बताइएको छ।
फाइजर माइनस ७० डिग्री चिस्यानमा भण्डारण गर्नुपर्ने र त्यसका लागि युनिसेफले ४ वटा रेफ्रिजरेटर उपलब्ध गराउने बताइएको छ।
यस्तै फाइजर खोप हालसम्म नेपालमा कोरोनाविरुद्ध ल्याइएका अन्य खोपभन्दा अलि फरक भएकाले यो खोप लगाउन स्वास्थ्यकर्मीलाई तालिम दिनु पर्ने, सिरिन्ज पनि शून्य दशमलव ३ एमएलको आवश्यक पर्छ।
यो खोप पाउडरमा हुने भएकाले घोल्नुपर्ने हुन्छ। त्यसका लागि तालिम दिनुपर्छ। घोलेर एक घण्टा बाहिर राखेपछि मात्र लगाउन मिल्ने हुँदा अन्य खोपभन्दा यो खोपको प्रयोग तरिका फरक भएकाले धेरै तयारी गर्नु पर्ने डा. पौडेलले बताए।
नेपालले फाइजरको ६० लाख मात्रा र मोडर्नाको ४० लाख मात्रा खरिद गर्न लागेको छ। यी दुवै खोप १८ वर्षमुनिका बालबालिकालाई उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयले निर्णय गरिसकेको छ।
एक लाख मात्राको ट्रायलसँगै थप खोप भण्डारणका लागि कोल्ड स्टोरेजको क्षमता विस्तार पनि अगाडी बढाइने बताइएको छ। नेपालमा १८ वर्ष मुनिका करिब ३४ लाख बालबालिका भएको अनुमान स्वास्थ्य मन्त्रालयको छ।