त्रिभुवन विमानस्थलमा यात्रुको भीड,स्वास्थ्य मापदण्डको पालनामा हेल्चेक्राइ
काठमाडौं, १७ भदौ । दैनिक हजारौं यात्रुको चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानका यात्रुहरुले स्वास्थ्य मापदण्ड पालनामा हेल्चेक्राइ गरेको देखिन्छ ।
विमान कम्पनीहरुले फेससिल्ड हटाएसँगै यात्रुहरु सामाजिक दूरी पालनामा समेत लापरवाही गर्न थालेका छन् । यद्यपि विमानस्थलमा रहेको हेल्थ डेस्कका प्रतिनिधि पहिलाभन्दा यात्रुहरु आफ्नो स्वास्थ्यप्रति सचेत रहेको दावी गर्छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुको चापाचाप छ । कोभिडको संक्रमणपछि हवाई यात्रा गर्दा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने नियम छ । अधिकांश यात्रुको मुखमा मास्क देखिएपनि भौतिक दूरी कायम गर्न चुकेका देखिन्छन् ।
सरकारले व्यवस्था गरेको हेल्थ डेस्कमा शरीरको तापक्रम नाप्ने र हातमा स्यानिटाईजर दलेर भित्र पस्नुपर्ने नियम छ । हेल्थ डेस्कमा काम गर्ने प्रतिनिधिको अनुभवमा यसअघिको संक्रमणभन्दा अहिले यात्रुहरुमा स्वास्थ्यप्रति चेतना आएको छ ।
यात्रुहरुको भौतिक दूरी पालना गराउन यहाँका कुर्सी र भूइँमा संकेत राखिए पनि त्यसप्रति कसैको ध्यान गएको देखिँदैन । टिकट काउन्टरमा अत्यासलाग्दो भीडभाड देखिन्छ । भौतिक दूरी कायम गराउन न कसैले प्रयास गरेको छ, न यात्रु आफैं सचेत छन् ।