वीर अस्पतालमा ४८ करोडमा किनेको रेडियोथेरापी मेसिन ३ वर्षसम्म जडान हुन सकेन



Download our app to get more features

काठमाडौं, १६ भदौ । वीर अस्पतालमा ३ वर्ष अघि करोडौं मूल्यमा खरिद गरिएको विकिरणको माध्यमबाट क्यान्सर उपचार गरिने रेडियोथेरापी मेसिन हालसम्म पनि जडान हुन सकेको छैन् ।

अहिले मुलुकभरका दुईवटा सरकारी अस्पतालले मात्र यो सेवा दिएका छन् । जसले गर्दा निजी अस्पतालमा महंगो शुल्क तिरेर बिरामीहरु उपचार गर्न बाध्य छन् । 

रेडियोथेरापी क्यान्सर रोग उपचार गर्ने एक पद्धति हो । विकिरणको माध्यमबाट क्यान्सरका सेलहरूलाई मार्ने र शरीरमा फैलन नदिन रेडियोथेरापी गरिन्छ । क्यान्सर रोग देखिएको सुरुवाती चरणमा वा फैलिएर अन्तिम चरणमा पुगेको समयमा रेडियोथेरापी उपचारको विकल्प हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार १० लाख जनसंख्यामा कम्तिमा पनि १ वटा रेडियोथेरापी मेसिन आवश्यक पर्छ । सो अनुसार नेपालमा ३० वटा मेसिन चाहिने हुन्छ । हाल यो मेसिन सरकारी अस्पताल तर्फ भक्तपुर क्यान्सर अस्पतालमा २, वीपी कोइराला क्यान्सर अस्पताल चितवनमा २ वटा मात्र रहेको छ । निजी तर्फ हरिसिद्धीको नेपाल क्यान्सर अस्पताल, काठमाडौ क्यान्सर केयर सेन्टर र वीएण्डसी क्यान्सर अस्पताल झापामा १र१ वटा मात्र रहेको छ ।

वीर अस्पतालमा २०७५ सालमा नै ४७ करोड ९० लाख ६० हजारको सी.टी. सिमुलेटर र टोमोथेरापी मेसिन खरिद गरी जडान नै गरिएको छैन । वीरका अकोलोजी विभाग प्रमुख डा.विवेक आर्चायले मेसिन आफूहरूलाई हस्तान्तरण नै नभएका कारण जडान नभएको बताए । 

वीर अस्पतालमा उपचारमा आउने क्यान्सर रोगीलाई रेडियोथेरापी गर्न  अन्यत्र पठाउने गरिएको छ । भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी गराउने बिरामीको चाप बढ्दो छ । अस्पतालले १ दिनमा तीन चरणमा १ सय माथि बिरामीको रेडियोथेरापी गर्ने गरेको छ ।

रेडियोथेरापी कम्तीमा पनि १ देखि डेढ महिनासम्म गर्नुपर्ने हुन्छ । जसका लागि निजी अस्पतालमा २ देखि ३ लाख सम्म खर्च हुने गर्छ । यसका लागि भक्तपुर क्यान्सर अस्पतालले नै १ लाख १५ हजार सम्म लिने गरेको छ ।

Last modified on 2021-09-01 20:43:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts