आन्तरिक उडानमा यात्रुले फेस शिल्ड लगाउन नपर्ने, मास्क भने अनिवार्य
काठमाडौं, १६ भदौ । आन्तरिक उडान सुरु भएको दुई महिनापछि यात्रुलाई अनिवार्य गराइएको फेस शिल्ड प्रयोग हटाइएको छ। फेस शिल्ड प्रयोगमा अनिवार्य नगराइए पनि वायुसेवा कम्पनीले मास्कको प्रयोग भने अनिवार्य गराएका छन्।
निजी वायुसेवा कम्पनी बुद्ध, यती, श्री लगायत विभिन्न वायुसेवा कम्पनीले बुधबारदेखि यात्राका लागि अनिवार्य फेस शिल्डको प्रयोग बन्द गरेको जनाएका छन् । फेस शिल्ड प्रयोगलाई यात्रुले झन्झटिलो मान्नुका साथै यात्रापछि जथाभावी फालेर फोहर हुन थालेपछि प्रयोगमा अनिवार्य नगरिएको बुद्ध एयरले जनाएको छ।
'प्रयोग गर्न चाहने यात्रुका लागि हामीले फेस शिल्ड राखिदिएका छौं। तर यस अगाडि जसरी हामी फोर्स गरेर फेस शिल्ड बाड्दैनौं,' कम्पनीका प्रवक्ता रुपेश जोशीले भने।
फेस शिल्ड प्रयोगका कारण वातावारणीय हिसाबले विमानस्थल फोहर हुँदै आएको श्री एयरलाइन्सले जनाएको छ। 'फेस शिल्डको प्रयोगपछि जहाँ पायो त्यहीँ फालिएको हुन्छ। जसले गर्दा विमानस्थल परिसर नै फोहर हुँदै आएको छ। त्यस कारण हामीले आजबाट यसको प्रयोग अनिवार्य गराएका छैनौं,' कम्पनीका प्रवक्ता अनिल मानन्धरले भने ।
प्राधिकरणबाट मौखिक रुपमा फेस शिल्ड प्रयो हटाउँदा फरक नपर्ने जानकारी आएसँगै प्रयोग अनिवार्य नगरेको यती एयरलाइन्सले जनाएको छ।
'यो गर्मी महिनामा फेस शिल्ड प्रयोग गर्दा विभिन्न समस्या देखा पर्यो। यात्रुलाई असहजतासँगै फोहोर धेरै भएको देखियो। त्यसकारण आजदेखि अनिवार्य गराइएको छैन,' कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले भने।
नियमित आन्तरिक उडान गर्दै आएका विभिन्न वायुसेवा कम्पनीले एक साता अघिदेखि फेस शिल्ड प्रयोगलाई अनिवार्य नगर्नका लागि नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गर्दै आएका थिए।