औषधि व्यवस्था विभागमा ढकाल र वैद्यखाना विकास समितिमा डा.सुवेदी
काठमाडौं, १६ भदौ । सरकारले सिंहदरवार वैद्यखाना विकास समितिको कार्यकारी निर्देशकमा डा. शोभाराम सुवेदीलाई नियुक्त गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलवार मन्त्रिस्तरीय निर्णय गर्दै समितिको कार्यकारी निर्देशकमा डा.सुुवेदीलाई नियुक्त गरेको हो । यसअघि समितिको निर्देशकमा डा.सवरी साहलाई जिम्मेवारी दिइएको थियो ।
यस्तै सरकारले औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण प्रसाद ढकाललाई पुनः नियुक्त गरेको छ ।
मन्त्रालयका अनुसार विभागका हालका महानिर्देशक रहेका भरत भट्टराईलाई राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुख बनाएर पठाइएको छ । उनी गतवर्ष एघारौँ तहमा बढुवा भएपछि महानिर्देशकमा पदस्थापन भएका थिए ।
तत्कालिन स्वास्थ्य मन्त्री भानुभक्त ढकालले २९ असोज २०७७ मा मन्त्रीस्तरीय निर्णय गर्दै ढकाललाई हटाएर भट्टराईलाई महानिर्देशक बनाएका थिए ।