राप्ती अस्पतालका मेसुलाई कालोमोसो दलेको आरोप लागेका परियारले गरे आत्मसमर्पण
दाङ,१५ भदौ । राप्ती प्रादेशिक अस्पतालका तुल्सिपुरका मेडिकल सुपरिटेन्डेन्ट डा.विनोद सिंहलाई कालोमोसो दलेको आरोप लागेका अनेरास्ववियू दाङका अध्यक्ष सर्जन परियारले प्रहरीमा आत्मसमर्पण गरेका छन् । उनी आज आफैं जिल्ला प्रहरी कार्यालय दाङमा उपस्थित भएका हुन् ।
परियारले प्रहरी कार्यालयमा आएर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । परियारले आफूलाई प्रहरीले लगाएको मुद्दा झूटो भएको भन्दै आत्मसमर्पण गरेका छन् । पक्राउ पछि उनले मुद्दा झुटो रहेको दाबी गर्दै हिरासतभित्र भोकहड्ताल गर्ने बताएका छन् ।
चिकित्सकमाथि कालोमोसो दल्ने मुख्य आरोपी ६ जनामध्ये प्रहरीले अहिलेसम्म परियारसहित तीन जना पक्राउ गरेको छ । पक्राउ परेकालाई स्वास्थ्यकर्मीहरुको सुरक्षा सम्बन्धी अध्यादेश २०७८ बमोजिम जिल्ला प्रहरी कार्यालय दाङमा मुद्दा दायर गरिएको छ ।
स्वास्थ्यकर्मीमाथि हातपात गरेमा पाँच वर्षसम्म कैद सजाय हुने गरी सरकारले नयाँ अध्यादेश ल्याएपछि नेपालमा पहिलोपटक अध्यादेश बमोजिम मुद्दा दायर भएको प्रजिअ रामबहादुर कुरुम्बाङ्ले बताए ।