चिकित्सा आयोगले एमबीबीएस र बीडीएसका ८ जनालाई आरक्षण कोटाबाट हटायो
काठमाडौं,१४ भदौ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसको आरक्षण कोटामा नाम निकालेका ८ जनालाई हटाएको छ ।
उनीहरुले गलत कागजात पेश गरेको उजुरी परेको र कागजात पुन छानविन गर्दा गलत कागजात प्रमाणित भइसकेपछि आरक्षणको योग्यता क्रमबाट हटाएको आयोगले बताएको छ ।
नाम हटाइनेहरुमा आदीवासी जनजाती र थारु समूहबाट एमबीबीएसमको आरक्षणमा रहेका अमनकुमार चौधरी, खस आर्य र पिछडिएको क्षेत्र समूहबाट एमबीबीएसमा नाम निकालेका बीरेन्द्र धिताल, खस आर्य र पिछडिएको क्षेत्र समूहबाट नाम निकालेका गगन प्याकुरेल, पिछडिएको क्षेत्रबाट एमबीबीएसमा परेका लकसन शाही, खस आर्यबाट एमबीबीएसमा परेका सुजन घिमिरे रहेका छन् ।
त्यस्तै खस आर्य र पिछडिएको क्षेत्रबाट एमबीबीएस र बीडीएसमा नाम निकालेका सूर्यकिरण जोशी, महिला दलित महिला र दलित कोटाबाट एमबीबीएसमा नाम निकालेकी स्वस्तिका सुन्दास र महिला आदिवासी जनजाती कोटाबाट एमबीबीएस र बीडीएसमा नाम निकालेकी स्मारिका श्रेष्ठ रहेका छन् ।
उनीहरुले कक्षा ६ देखि १० सम्म सार्वजनिक विद्यालयमा अध्ययन गरेको भन्ने काजगात पेश गरेका थिए । तर त्यसमा उजुरी परेपछि आयोगले छानविन गरेको थियो ।