स्वास्थ्य सामग्रीलाई लिएर धनकुटामा एमाले र कांग्रेसबीच चुलियो विवाद
धनकुटा, १४ भदौ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले गृह जिल्ला धनकुटामा वितरण गर्न ल्याएको स्वास्थ्य सामग्रीलाई लिएर नेपाली कांग्रेस र नेकपा (एमाले)बीच विवाद बढ्दै गएको छ।
धनकुटाका विभिन्न ठाउँमा वितरणको तयारी गरिएको स्वास्थ्य सामग्री सूर्यबहादुर थापा प्रतिष्ठानले दाताको सहयोगमा खरिद गरेको प्रतिष्ठानका संरक्षक तथा कांग्रेस सहमहामन्त्री थापाले दाबी गरेका छन्। तर‚ एमालेले सामान सरकारी भएको दाबी गर्दै आएको छ।
ती सामग्रीमा कांग्रेसको झण्डा र चुनाव चिह्न भएको स्टीकर टाँसिएको पाइएपछि एमालले विरोध जनाएको हो। एमालले शनिबार पत्रकार सम्मेलन गरी सामग्री तत्काल सम्बन्धित निकायमा हस्तान्तरण गर्नुपर्ने माग गरेको छ। तीन दिनभित्र आवश्यक प्रक्रिया पूरा गरेर सामग्री आधिकारीक निकायमार्फत वितरण नगरे आफ्ना कार्यकर्तामार्फत होटलबाट जपथ गरेर बुझाउनले एमाले जिल्ला अध्यक्ष राजेन्द्र राईले चेतावनी दिएका छन्।
उनले स्वास्थ्य सामग्रीमा राजनीतिकरण गरिएको आरोप लगाए। जिल्लाका सातवटै स्थानीय तहमा वितरण गर्न ल्याइएका सामग्रीमा कांग्रेसको लेटर प्याडमा माग गरी सरकारी निकायमार्फत स्वास्थ्य सामग्री प्रतिष्ठानको नाममा ल्याइएको एमालेको दाबी छ। एमाले प्रदेश कमिटी सदस्य ईन्द्रमणि पराजुलीले उक्त सामग्री मन्त्रालयबाट नल्याएको भए स्रोत उल्लेख गर्न चुनौती दिएका छन्।