भरतपुर अस्पतालमा एक वर्षमा ७ मेसु परिवर्तन, तीन महिनापछि प्रा.डा. पौडेललाई जिम्मा

चितवन, १४ भदौ । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा ३ महिनामै मेडिकल सुपरिटेण्डेन्टको फेरि नयाँ जिम्मेवारी तोकिएको छ ।
मन्त्रिस्तरीय निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको मेसुमा आइतवार प्रा.डा. कृष्ण पौडेललाई नियुक्त गरेको हो ।
प्रा.डा. पौडेल बने ४६ औँ मेसु
यसअघि सोही अस्पतालको ३८ औँ मेसु बनिसकेका उनी अहिले अस्पतालको ४६ औँ मेसु समेत बन्ने अवसर पाएका छन् । उनी विसं २०७५ साल असोज ७ गतेदेखि ७६ साल जेष्ठ १ गतेसम्म मेसु बनेका थिए । उनी सोही अस्पतालमा लामो समयदेखि कार्यरत अर्थोपेडिक तथा स्पाइन सर्जन हुन् । उनी यस अस्पतालको समस्या, विकास निर्माणको अवस्था र गुरू योजनालगाएतका समग्र विषयमा निकै जानकार समेत छन् । जसले गर्दा सर्वसाधारणले उनी नियुक्ति भएपछि अब अस्पतालको चौतर्फी विकासको आशा समेत व्यक्त गरेका छन् । केन्द्रीय अस्पतालहरूमा निर्देशक नियुक्त गर्ने चलन छ।
प्रा.डा. पौडेल नेपाल चिकित्सक संघ चितवनका पूर्वअध्यक्ष समेत हुन् । साहित्य तथा लेखनमा समेत रूची राख्ने उनले गतवर्ष स्वास्थ्य सम्बन्धी बहुउपयोगी पुस्तक ‘कम्मरीदेखि कोभिड कहर’ बजारमा सार्वजनिक गरेका थिए ।
किन टिक्दैनन् मेसु ?
यसअघि डा. रोशन न्यौपाने अस्पतालमा प्रमुख मेसु रहेका थिए । उनी जेष्ठ महिलामा मात्रै नियुक्ति भएका थिए । उनी ३ महिनाभन्दा टिकेनन् । उनी सप्तरीको राजविराजस्थित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरूवा भएका छन् ।
त्यसअघि सोही अस्पतालमा कार्यरत दसौँ तहका मेडिकल जनरलिष्ट् चिकित्सक डा. जगन्नाथ तिवारी अस्पतालको निमित्त मेडिकल सुपरिटेण्डेन्ट रहेका थिए ।
गत वैशाख महिना पहिलो साता सचिवस्तरीय निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको निमित्त प्रमुख मेसुमा डा. तिवारीलाई नियुक्त गरेको थियो ।
डा. तिवारी भन्दाअघि अस्पतालको दुई महिना प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) को जिम्मेवारी डा. वासुदेव पाण्डेले सम्हालेका थिए । डा. पाण्डे गत बैशाख ५ गतेदेखि ६० वर्ष पुरा भएकाले उनले स्वास्थ्य सेवा ऐनको नियम बमोजिम अनिवार्य अवकाश पाएका थिए ।
अस्पतालको तथ्याङ्क अनुसार वि सं २०७६ असार १९ गतेदेखि ०७७ भदौ २८ गतेसम्म डा. श्रीराम तिवारी प्रमुख मेडिकल सुपरिटेण्डेन्ड रहेका थिए । त्यसपछि ०७७ भदौ २८ गतेदेखि मंसिर ८ गतेसम्म डा. राजन पाण्डे प्रमेसु बने ।
गत मंसिर ८ गतेदेखि फागुन ४ गतेसम्म डा. जगन्नाथ तिवारी निमित्त मेडिकल सुपरिटेण्डेन्ड रहे । त्यस पश्चात् गत फागुन ५ गतेदेखि यही वैशाख ४ गतेसम्म दुई महिना प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) को जिम्मेवारी डा. वासुदेव पाण्डे सम्हालेका हुन ।
डा. श्रीराम तिवारी भन्दाअघि अस्पतालमा डा. विश्वबन्धु बगालेले ४५ दिन, डा. रवीन खड्काले चार महिना र डा. कृष्ण पौडेलले नै ८ महिना मेसुको जिम्मेवारी सम्हालेका थिए ।
एकवर्ष भित्र ७ मेसु परिवर्तन, अस्पतालको दिगो विकास नै प्रभावित
गत भदौ महिना देखियता मात्रै भरतपुर अस्पतालमा ७ जना मेसु परिवर्तन भएका छन् । केन्द्रीय अस्पताल जस्तो ठूलो संस्थामा यसरी छोटो समयमै मेसु परिवर्तन हुने समस्या देखिएको छ । यसले कोरोना महामारी नियन्त्रण, अस्पतालको दिगो विकास निर्माणका काम र गुणस्तरीय सेवामा समेत प्रभाव पारेको छ । अस्पतालको चौतर्फी विकासको निम्ति यस्तो परम्पराको अब अन्त्य हुनु जरूरी छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।