चितवनमा घट्यो कोरोना संक्रमणदर, जोखिम भने उस्तै



Download our app to get more features

चितवन, १३ भदौ । चितवनका सातवटै स्थानीय तहमा  कोरोना भाइरस (कोभिड–१९) का सक्रिय संक्रमितको संख्या केही दिनयता निरन्तर घटेको छ ।

भदौ पहिलो साता जिल्लाभर २५ सय हाराहारी रहेको संक्रिय संक्रमितको संख्या आइतवार दिउँसोसम्म घटेर १ हजार ५ सय ९१ पुगेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले जानकारी दिए । 

‘चितवनमा केही दिनयता संक्रमणदर निरन्तर घट्दै गएको पाइएको छ, विभिन्न मापदण्डलाई आधार मान्दा समेत योदर कम भएको छ,’ उनले भने, ‘केही दिनयता सार्वजनिक बिदा तथा निरन्तर वर्षाको कारण समेत कोरोना परीक्षण गर्न आउँनेको संख्या घटेको हुन सक्ने हाम्रो अनुमान छ ।’ 

संक्रमणदर घटे पनि लकडाउन खुकुलो भएको कारण जोखिम भने कायमै रहेको उनले बताए । अहिले लकडाउन खुकुलो भएता पनि अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनु परेमा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने जस्ता स्वास्थ्यका नियमहरूलाई राम्रोसँग पालना गर्न समेत स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले सबैलाई अनुरोध गरेका छन् ।

अहिले जिल्लाभर कहाँ कति छन् सक्रिय संक्रमित ? 

जिल्लामा सबैभन्दा बढी सक्रिय संक्रमित रहेका भरतपुर महानगरपालिकामा अहिले १ हजार ५५ जना छन् । त्यसो त जिल्लाकै एकमात्रै गाउँपालिका इच्छाकामनामा सबै भन्दाकम ६ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, अन्य स्थानीय तहमा खैरहनी नगरपालिकामा ८२ जना, कालिका नगरपालिकामा ६२ जना, राप्ती नगरपालिकामा ६४ जना, माडी नगरपालिकामा १ सय २५ जना र रत्ननगर नगरपालिकामा १ सय ९७ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

होम आइसोलेसनमा सबै भन्दाबढी, संस्थागतमा शून्य

सक्रिय संक्रमित मध्ये १ हजार ५ सय ३ जना होम आइसोलेसन, ८८ जना अस्पताल भर्ना भई उपचाररत् रहेका छन् भने संस्थागत आइसोलेसन भने खाली रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कुल संक्रमितको संख्या साढे २४ हजार नाघ्यो

आइतवार दिउँसोसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको कुल संख्या २४ हजार ५ सय ४५ पुगेको छ । संक्रमित हुनेमा १३ हजार २ सय ७० जना पुरूष र ११ हजार २ सय ६५ जना महिला रहेका छन् । जसमध्ये जिल्लाभर मात्रै अहिलेसम्म २२ हजार ५ सय ६३ जना कोरोना भाइरस संक्रमणमुक्त भई निको भएका छन् ।

जिल्लाभर ३ सय ९१ जनाको मृत्यु

जिल्लाका संक्रमित मध्ये अहिलेसम्म ३ सय ९१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका भित्रका सबै भन्दाबढी २ सय २७ जना छन् । त्यस्तै, सबै भन्दाकम इच्छाकामना गाउँपालिकाको ३ जना छन् । बाँकी एकसय ४१ जना जिल्लाका अन्य पालिकाका रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

निषेधाज्ञासँगै कोरोना नियन्त्रणको लागि जिल्लामा कोरोनाविरुद्धको खोपलाई समेत तीव्रता दिइएको छ ।

Last modified on 2021-08-29 17:19:39

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts