देशभर थपिए १ हजार ८ सय ५७ नयाँ संक्रमित, निको हुनेको संख्या ७ लाख १० हजारभन्दा बढी
काठमाडौं, १२ भदौ । नेपालमा पछिल्लो समय कोरोना संक्रमण दरभन्दा निको हुनेदर बढ्दै गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो १ सातादेखि नेपालमा कोरोना संक्रमित थपिनेभन्दा निको हुनेदर बढ्दै गएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गत २४ घन्टामा देशभर २ हजार २ सय २२ जना स्वस्थ भएका छन् । जबकी गत २४ घन्टामा १ हजार ८ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर रहेका सक्रिय संक्रमितमध्ये २ हजार २ सय २२ जना स्वस्थ भएसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ७ लाख १० अजार ४ सय ५२ पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर थप २७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ६ सय ९० पुगेको छ ।
गत २४ घन्टामा देशभर १३ हजार १ सय ७६ कोरोना परीक्षण गर्दा १ हजार ८ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ९ हजार ४ सय ९ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १ हजार ५ सय १६ र ३ हजार ७ सय ६७ एन्टीजेन परीक्षण गर्दा ३ सयि ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै हालसम्म नेपालमा ७ लाख ५८ हजार ८ जनामा आरटी पिसिआर विधिबाट र ८२ हजार ७ सय ९७ जनामा एन्टीजेन विधिबाट कोरोना पुष्टि भएको छ ।
हाल देशभर ३६ हजार ८ सय ६६ सक्रिय संक्रमित रहेका छन् ।