खचाखच भरियो भेरी अस्पतालको कोभिड वार्ड

नेपालगन्ज, ९ भदौ । संक्रमितको संख्या ह्वात्तै बढेपछि भेरी अस्पतालको कोभिड वार्ड भरिभराउ भएको छ। नेपालगन्जका विभिन्न तीन वटा प्रयोगशालामा दैनिक रूपमा नयाँ संक्रमित फेला पर्न थालेपछि बिरामीको चाप बढेको हो। कोरोना संक्रमितले अस्पतालका बेड क्रमशः भरिदै गएका छन्। नेपालन्जस्थित भेरी अस्पतालमा उपचारका लागि आउने संक्रमितको संख्या दैनिक रूपमा बढ्दो क्रममा छ।
स्वास्थ्यकर्मीका अनुसार अस्पतालमा आउने संक्रमितहरू अधिकांश गम्भीर खालका छन्। अस्पतालको कोभिड वार्डमा एक महिनाअघि सम्म ५/६ जना मात्र संक्रमित भर्ना भएकोमा अहिले त्यो संख्या ह्वात्तै बढेको हो। अस्पतालको कोभिड वार्डमा कार्यरत नर्सिङ अधिकृत मौनता अर्यालका अनुसार बुधबार बिहानसम्म ५५ जना संक्रमितले उपचार गराइरहेका छन्।उपचारका लागि संक्रमितलाई हल ‘ए’ र हल ‘बी’ मा राखिएको छ।भेन्टिलेटर सुविधासहितको हल ‘ए’ मा १० जना संक्रमित छन्। तीमध्ये ५ जना भेन्टिलेटरमा उपचाररत छन्।
यस्तै हल ‘ब’ मा ३५ जना संक्रमित भर्ना छन्।यसबाहेक एन्टिजेन पोजेटिभ भएर आएका संक्रमितको पनि अस्पतालले उपचार गरिरहेको छ।भारतबाट फर्केका अधिकांस व्यक्तिमा एन्टिजेन परिक्षण गर्दा कोरोना पोजेटिभ देखिने गरेको छ। सामान्य स्वास्थ्य अवस्था भएका उनीहरू पनि भेरी अस्पतालमा पुग्ने गरेका छन्। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको पछिल्लो तथ्यांक अनुसार बाँकेमा सक्रिय संक्रमितको संख्या १ सय ७० पुगेको छ। त्यसमध्ये १ सय ५८ जना होमआइसोलेसनमा बसिरहेका छन्।
कोरोना संक्रमण नियन्त्रण र ब्यवस्थापनमा खटिदै आएका कोभिड फोकल पर्सन नरेश श्रेष्ठले अस्पतालमा संक्रमितको चाप पुनः बढेको बताएका छन्। ‘कोभिडको संक्रमण फेरि बढेको छ, अस्पतालमा बढेको संक्रमितको चापले सहजै पुिष्ट गर्छ,’ उनले भने। कोरोना संक्रमणको दोस्रो लहरमा ‘हटस्पट’ बनेको बाँकेमा अहिले पुनः संक्रमण दर फैलिँदै गएपछि स्वास्थ्य क्षेत्रका सम्वद्धहरू चिन्तित भएका छन्। संक्रमण पूर्ण रूपले नियन्त्रणमा नआउँदै पुनः बढेपछि नेपालगन्जबासी पनि त्रसित छन्।