प्रदेश २ मा भाइरलको समस्या लिएर आउने बिरामीको संख्या बढ्यो, सतर्क रहन चिकित्सकको आग्रह
काठमाडौं, ७ भदौ । नेपालमा पछिल्लो समय कोरोना संक्रमित थपिनेको भन्दा भाइरल ज्वरोका बिरामीको संख्या बढ्न थालेको छ ।
पछिल्लो समय नेपालका विभिन्न अस्पतालमा भाइरल ज्वरो, इन्फ्लुएन्जा र फ्लूका बिरामीको संख्या बढ्न थालेको हो ।
विदेशगरी प्रदेश २ का विभिन्न अस्पतालमा भाइरलका बिरामीको संख्या बढ्न थालेको बताइएको छ ।
प्रादेशिक अस्पताल जनकपुरका प्रमुख डा.जामुन सिंहले अस्पताल आउने बिरामीमध्ये पछिल्लो समय अधिकांशमा भाइरल लगायतका मौसमी स्वास्थ्य समस्या देखिन थालेको बताए ।
उनले हाम्रो डक्टर न्यूजसँगको कुराकानीमा पछिल्लो एक सातादेखि अस्पताल आउने बिरामीमध्ये अधिकांशमा भाइरलको समस्या देखिन थालेको बताए ।
उनले भने, ‘कोरोनासँग मिल्दोजुल्दो समस्या लिएर बिरामीहरु अस्पताल आउन थालेका छन् । उनीहरुको पिसिआर परीक्षणमा भने कोरोना नेगेटिभ देखिएको छ । तर, भाइरलको समस्या देखिने गरेको छ । यसले प्रष्ट हुन्छ की अहिले कोरोनाभन्दा भाइरलका बिरामी बढेका छन् ।’
यस्तै रोल्पा अस्पतालमा पनि भाइरलका बिरामीको संख्या बढेको स्वास्थ्य कार्यालय रोल्पाले बताएको छ ।
स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख नोखराज पोखरेलले अस्पताल आउने अधिकांश बिरामीमध्ये भाइरलको समस्या देखिने गरेको बताए ।
अस्पताल आउनेमध्ये अधिकांशमा ज्वरो, रुघाखोकी, टाउको दुख्ने लगायतका समस्या देखिने गरेको तर, कोरोना परीक्षणमा भने नेगेटिभ आएको उनको भनाइ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पनि पछिल्लो समय देशका विभिन्न अस्पतालमा भाइरलका बिरामीको संख्या बढेको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेलले विशेषगरी प्रदेश २ र अन्य केहि अस्पतालमा भाइरलको समस्या देखिएको बताए ।
कोरोना महामारीसँगै देखिएको भाइरल र कोरोनाको लक्षण मिल्दो जुल्दो भएकाले सबैलाई सचेत रहन र समयमै कोरोना परीक्षण गराउन पनि डा. पौडेलले सबैलाई आगह गरे ।
उनले भने, ‘कोरोना जस्तै लक्षणहरु भाइरलमा देखिने भएकाले पिसिआर परीक्षण गरेपछि उपचारमा सहज हुने भएकाले लक्षण देखिनासाथ पिसिआर परीक्षण गर्नुपर्छ ।’
उनले भाइरलको बिरामी र कोरोनाका लागि स्वास्थ्यकर्मीहरु सचेत रहेको भन्दै कुनैपनि समस्या नहुने पनि बताए ।
इन्फ्लूएन्जा पत्ता लगाउनका लागि विभिन्न अस्पतालहरुमा सर्भिलेन्स रहेको हुँदा त्यसले समस्या नहुने पनि उनले प्रष्ट पारे ।
इन्फ्लुएन्जाको खोप उपलब्धताको विषयमा डा.पौडेलले भने, ‘अन्य खोप जस्तो इन्फ्लुएन्जाको खोपलाई सरकारले निःशुल्क उपलब्ध गराउन सकेको छैन । तर, चिकित्सकको सुझाव अनुसार उपलब्ध छ । सोही अनुसार लगाउन सकिन्छ ।’
इन्फ्लुएन्जा लगायतका स्वास्थ्य समस्याका कारण हरेक वर्ष नेपालमा ४० देखि ५० जनाको मृत्यु हुने गरेको सरकारको तथ्याङ्कले देखाएको छ । त्यसकारण मृत्युदर कम गर्न र समयमै रोगको पहिचान गरी उपचारका लागि पनि सरकारले सबैलाई आग्रह र सचेत गराएको छ ।