जापानबाट पर्सिसम्म आठ लाख डोज खोप आइपुग्ने
.jpeg.crdownload&w=800&h=480&static=true)
काठमाडौं, ५ भदौ । जापान सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएकोमध्ये बाँकी रहेको आठ लाख डोज खोप पर्सिसम्म काठमाडौं आइपुग्ने भएको छ।
यसअघि नै आठ लाख डोज आइसकेकोमा बाँकी रहेको आठ लाख डोज शनिबार र सोमबार काठमाडौं आउन लागेको स्वाथ्य मन्त्रालयको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख झलक शर्मा गौतमले जानकारी दिए। जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत १६ लाख १४ हजार ७४० डोज अस्ट्राजेनेका खोप सहयोग गरेको हो। त्यसमध्ये आधा खोप २३ र २४ गते काठमाडौंमा आइपुगेको थियो।
प्राप्त भएको खोप प्राथमिकताका आधारमा लगाइने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा १ करोड १६ लाख मात्रा खोप प्राप्त भइसकेको छ। सरकारले असोजसम्म खोप लगाउन लक्षित ३३ प्रतिशतलाई पूर्ण खोप र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ। अहिलेसम्म नेपालमा ४७ लाख ८५ हजार ९०२ जनाले पहिलो मात्रा र ३६ लाख ४९ हजार ७६० जनाले पूर्णं मात्रा खोप लगाइसकेका छन्।