झापामा १ लाख बढी दोस्रो डोज खोपको पर्खाइमा
झापा, ४ भदौ । कोभिड–१९ विरुद्धको पहिलो मात्रा लगाएका झापाका झण्डै एक लाख १७ हजार ५ सय ९० जनाले दोस्रो खोप लगाउन पाएका छैनन् ।
सरकारले भारतबाट प्राप्त कोभिशिल्ड, चीनबाट प्राप्त भेरोसेल र अमेरिकाबाट प्राप्त जोनशन खोप लगाउँदै आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलले अहिलेसम्म १ लाख ८८ हजार ७ सय ४१ जनाले कोभिडविरुद्धका विभिन्न खोप लगाइसकेको बताए ।
सबैभन्दा बढी ७७ हजार ४ सय ३७ जनाले चीनबाट आएको भेरोसेल खोप लगाएको लुइँटेलको भनाइ छ । पूर्ण खोप लगाउने १३ हजार २ सय १६ र एक मात्रा मात्र लगाउने ६४ हजार २ सय २१ जना छन् ।
जिल्लामा ६२ हजार १ सय १९ ले भारतबाट प्राप्त कोभिशिल्ड र ४९ हजार २ सय ८५ जनाले अमेरिकाबाट प्राप्त जोनसन खोप लगाएका छन् ।
Last modified on 2021-08-20 16:55:45