सरकारद्धारा कोभिड १९ महामारी नियन्त्रण गर्न उच्चस्तरीय समिति गठन



Download our app to get more features


काठमाडौं,२ भदौं । सरकारले कोभिड १९ महामारी नियन्त्रण, व्यवस्थापन र स्वास्थ्य सेवा प्रवाह कार्यान्वयन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । 

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा स्वास्थ्य सचिव रोशन पोखरेल छन् भने सहउपाध्यक्षमा प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंह रहेका छन् । त्यसैगरी सदस्य सचिवमा नीति योजना तथा अनुगमन महाशाखा प्रमुख गुणराज लोहनी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा स्वास्थ्य सेवा विभागका महानिर्देशक आरपी बिच्छा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक वासुदेव उपाध्याय, औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक तथा प्रवक्ता कृष्णप्रसाद पौडेल र राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन रुद्र मरासिनी रहेका छन्।

सरकारले कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रण गर्न सीमानाकामा हेल्थ डेस्क संचालन, क्वारेन्टाइन, परीक्षण, आइसोलेसन, उपचार व्यवस्थापन, खोप आपूर्ति तथा अभियान संचालन, औषधि, औजार उपकरण खरिद तथा आपूर्ति व्यवस्थापन लगायतका विषयमा नीतिगत निर्णय गर्ने जस्ता  ८ बुँदे कामको जिम्मा उच्चस्तरीय समितिलाई दिएको छ । 

गत साउन २८ गते प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णयअनुसार उच्चस्तरीय समिति गठन गरिएको हो।

Last modified on 2021-08-19 07:19:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts