बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रतिवेदन अनुसार दोषी ठहर भए कसैलाई संरक्षण गरिँदैन

काठमाडौं, २ भदौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उत्पन्न गतिरोधमा छानबिन कार्यदलले पेश गरेको प्रतिवेदन अनुसार दोषी ठहर भएका कुनै पनि पदाधिकारीलाई संरक्षण नगर्ने स्पष्ट पारेको छ ।
मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै छानबिन समितिले पेश गरेको प्रतिवेदन अनुसार दोषी ठहर भएका कुनै पनि पदाधिकारीलाई संरक्षण गर्ने नीति सरकारको नरहेको स्पष्ट पारेका हुन् ।
उनले कुनै पनि विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्ति गर्दा २०७३ सालमा तयार भएको मापदण्ड समय सापेक्ष परिमार्जन गर्नका लागि हाल छलफलको क्रममा रहेको समेत प्रष्ट पारेका छन् ।
छलफलबाट हुने परिमार्जित मापदण्ड अनुसार पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढाउने मन्त्रालयले जनाएको छ ।