जाजरकोटमा मास्क बैंक स्थापना



Download our app to get more features

जाजरकोट, २ भदौ । जाजरकोटमा विपन्न र असहाय समुदायका लागि मास्क बैंक स्थापना गरिएको छ । विपन्न समुदायका व्यक्तिहरुले दिनहुँ मास्क किनेर लगाउन असम्भव भएपछि मास्क बैंक स्थापना गरेको यार्सन जाजरकोटका कार्यक्रम प्रवन्धक सहदेव बस्नेतले जानकारी दिएका छन् ।

कारितास नेपालको कोभिड १९ रेस्पोन्स कार्यक्रमअन्र्तगत  'ए हजुर तपाईंको माक्स खोई ? ' अभियानमार्फत विपन्न समुदायको समस्यालाई ध्यानमा राखी मास्क बैंक स्थापनाको अवधारणा अगाडि बढाएको बस्नेतले बताए।

"हुनेले दिऔं, नहुनेले लिऔं" यस अवधारणाअन्र्तगत सबैसँग सामग्री तथा नगद सहयोग लिएर सञ्‍चालन गरेको हो । जिल्लास्तरीय कोभिड व्यवस्थापन समितिसँगको सम्पर्क समन्वय र रेखदेखमा यो मास्क बैंक सञ्‍चालनमा आएको हो। 

एक हजार मास्कबाट बैंक स्थापना गरेको यार्सनले हालसम्म १९ हजार ६ सय ३० नगद र तीन हजार पाँच सय ५० वटा मास्क संकलन गरेको छ । त्यस्तै, एक कार्टुन सेनिटाइजर पनि संकलन गरेको छ ।

मास्क लिनका लागि जिल्लाको भेरी नगरपालिका ४ रामजानकी टोलमा रहेको संस्थाको कार्यालय र नजिकको प्रहरीसँग सम्पर्क राख्न आग्रह गरेको  छ। कार्यालयमा आएर नहुनेले मास्क लिने र सहयोगी दाताले नगद वा जिन्सी सहयोग गर्न सक्नेछन्। बैंक सञ्‍चालनका लागि संस्थाले एकजना स्वंसेवक परिचालन गरेको छ । 

केही समयअघि कारितासले कोभिड प्रतिकार्यका लागि स्वास्थ्य संस्थालाई २६ लाख मूल्यका स्वास्थ्य सामग्री समेत सहयोग गरेको थियो । जिल्लास्तरीय कोभिड व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले जिल्लामा कोभिड १९ महामारीको तेस्रो लहरबाट बच्न मास्क प्रयोग अनिवार्य भएको बताए ।

मास्क बैंक स्थापना भएपछि विपन्न वर्गलाई निकै सहज भएको प्रजिअ देवकोटाले बताए ।
 

Last modified on 2021-08-18 17:14:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts