पर्यटन क्षेत्र खुलाउन स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई पर्यटनकर्मीको ज्ञापन पत्र
काठमाडौं, २ भदौ । कोभिड–१९ को प्रभावले थला परेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटनकर्मीहरूले सरकारसँग ३ बुँदे माग पेस गरेका छन्। उनीहरूले मंगलबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर मागपत्र बुझाएका हुन्।
पहिलो माग पर्यटनसहित सेवा क्षेत्रमा खटिएकाहरूलाई ३० दिनभित्र र बाँकी सबै नागरिकलाई छिटो भन्दा छिटो खोप उपलब्ध गराई सबै पर्यटन क्षेत्र खुला गर्नुपर्ने छ।
त्यसैगरि दोस्रो मागमा खोपको डोज पुरा गरेर नेपाल घुम्न चाहने विदेशीलाई क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गर्नुका साथै त्रिभुवन विमानस्थललगायत पर्यटक प्रवेश विन्दुमै पिसिआर परीक्षण गरि पोजिटिभ रिपोर्ट आएकालाई मात्र क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन माग गरिएको छ।
पर्यटनकर्मीहरूको तेस्रो मागमा स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यान्वयन गर्न र प्रभावकारी बनाउन देशव्यापी तालिम तथा अनुगमनको व्यवस्था मिलाइनुपर्छ भनिएको छ।
कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले फ्रन्टलाइनरलाई खोप लगाउन प्रयासरत रहेको र केही दिनभित्रै क्वारेन्टाइनको व्यवस्था हटाइने बताएका थिए।
मन्त्रीसँग नाट्टाका अध्यक्ष अच्युत गुरागाइँले सिएमसीमा पर्यटन क्षेत्रका पदाधिकारीको पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेका थिए। व्यवसायीहरू सूचनाबाट टाढिनु परेको र गलत सूचनाको शिकार हुनुपरेकाले यस्तो माग गरिएको हो।
राज्यमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा नेपाल एसोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स, होटल संघ नेपाल, ट्रेकिङ एजेन्जिस् एशोसियसन अफ नेपाल, नेपाल पर्वतारोहण संघ, नेपाल एसोशियसन अफ राफ्टिङ एजेन्सिज्, नेपाल एसोशियसन अफ टुर अपरेटर्स, टुरिष्ट बस एसोशियसन अफ नेपाल, सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स नेपाल, हिमालयन उद्दार संघ, नेपाल पर्यटक यातायात व्यवसायी संघ, एक्सपिडिसन अपरेटर्स एसोशियसन नेपाल र पाटा नेपालका अगुवाले हस्ताक्षर गरेका छन्।