काभ्रेमा कोरोनाबाट चार महिनामा १ सय ३७ को मृत्यु, १० हजार संक्रमित

काभ्रे, २ भदौ । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता चार महिनाका अवधिमा काभ्रेमा १ सय ३७ संक्रमितको मृत्यु भएको छ । यही अवधिमा जिल्लामा दश हजारभन्दा बढीमा संक्रमण देखिएको तथ्याङ्कले देखाएको छ ।
गत साल कोरोनाको पहिलो चरणमा १४ महिलासहित ४५ संक्रमितको मृत्यु भएको थियो । उक्त अवधिका तीन हजार ४ सय ५० मा संक्रमण पुष्टि भएको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)को तथ्याङ्कमा उल्लेख छ । गतअसार महिनामा नगन्य मात्रामा कोरोना संक्रमणबाट मृत्युको घटना भए पनि साउनमा मृत्युदर बढेको थियो ।
हालसम्म जिल्लाका १३ हजार ६ सय ६५ मा संक्रमण देखिएकामा १ सय ८२ को मृत्यु भएको छ । यसमध्ये करिब साढे तीन हजार गत सालका संक्रमित हुन् भने १० हजारभन्दा बढी संक्रमणको दोस्रो लहर सुरु भएयताका हुन् । हालसम्मका कूल संक्रमितमध्ये ९५ प्रतिशत अर्थात् १२ हजार ९ सय ४० संक्रमणमुक्त भइसकेका छन् । पछिल्लो केही हप्तादेखि संक्रमण र मृत्युदर बढ्न थालेपछि गत साउन २५ गतेदेखि यही भदौ ३ गतेसम्म निषेधाज्ञामा थप कडाइ गरिएको छ ।
हाल दैनिक सङ्क्रमणदर ५० देखि १ सयको हाराहारीमा रहेको केन्द्रको तथ्याङ्कले देखाएको छ । पहिलोपटक विसं २०७७ जेठ १ गते जिल्लाको धुलिखेल अस्पतालमा उपचारार्थ सिनधुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाबाट कारण मृत्यु भएको थियो । नेपालमा यो पहिलो घटना हो ।
कोरोनाको दोस्रो लहरमा द्रुतगतिमा संक्रमण जिल्लास्थित समुदायमा फैलिएका कारण धेरै संख्यामा संक्रमण र मृत्यु भएको केन्द्रले जनायो । “संक्रमितको हेलचेक्रयाइँ र अन्तिम अवस्थामा मात्रै अस्पताल आउने गर्दा पनि केही मृत्युदर बढेको हो”, केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्रकुमार झाले भने । उनका अनुसार यसपालिको संक्रमणदरको गति विश्लेषण गर्न नसक्दा र ‘कन्ट्याक्ट ट्रेसिङ’मा ढिलाइ हुँदा संक्रमण बढेको अनुमान गरिएको छ ।
संक्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । संक्रमणदर बढ्दै गएपछि जेठको विभिन्न मितिमा आठ स्थानीय तहले आफ्नो क्षेत्र ‘सिल’समेत गर्नुपरेको थियो । पछिल्ला केही हप्तादेखि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय तहका आइसोलेसनलाई आवश्यक अक्सिजनसहित पूर्ववत् सुविधामा राख्न निर्देशन दिइएको छ ।
केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले स्थानीय तहमा रहेका आइसोलेशन अक्सिजनसहित पुनःसञ्चालनमा ल्याउन निर्देशन दिइएको बताए । उनले भने, “संक्रमणदर दैनिक बढ्न थालेपछि स्थानीय तहका आइसोलेशन अक्सिजन सुविधासहित पुनः सञ्चालनमा ल्याउन निर्देशन दिएका छौँ ।” उनका अनुसार संक्रमण उच्च रहेका केही स्थानीय तहमा भने आइसोलेसन सञ्चालनरत रहेका छन् ।
आगामी केही महिनामा संक्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएपछि पनौती नगरले बालबालिकाको लागि गत असारमै आइसोलेसन निर्माण गरेको छ । नगरले ४ नम्बर वडा कार्यालयमा हाललाई ३० शय्याको अक्सिजनसहितको आइसोलेसन बनाएको हो । स्थानीय रोटरी नेपालसँगको सहकार्यमा सम्भावित दुर्घटनाबाट बालबालिकालाई जोगाउन अहिल्यै पूर्वतयारीस्वरुप आइसोलेसन बनाइएको नगरप्रमुख भीमप्रसाद न्यौपानेले बताए । नगरले कोरोनाको दोस्रो लहर सुरु भएपछि वैशाख अन्तिम साता २५ शय्याको अक्सिजनसहितको आइसोलेसन व्यवस्थित गरेको थियो ।
केन्द्रले गत जेठ अन्तिम साता आउँदो केही महिनामा कोभिड–१९ को संक्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएअनुसार जिल्लास्थित अस्पताललाई २०५ शय्या छुट्याउन लगाउने निर्णयसमेत गरेको थियो । धुलिखेल अस्पतालले बालबालिकाको लागि १०० शय्या व्यवस्थापन गर्ने सम्झौता भइसकेको प्रजिअ पोखरलले बताए ।
धुलिखेल, मेथिनकोट, बनेपास्थित शिर मेमोरियल र भोमी अस्पताललगायतलाई प्रारिम्भक चरणमा २ सय ५ शय्या छुट्याउन अनुरोध गरिने केन्द्र सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.झाले बताए । उनका अनुसार प्रक्षेपणअनुसार बालबालिकामा संक्रमण फैलिए स्थानीय तहलाई समेत बालबालिकाका लागि छुट्टै अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माण गर्न लगाइनेछ । “प्रक्षेपित तेस्रो लहरले कस्तो क्षति पु¥याउँछ सोहीअनुसार वयवस्थापनमा लाग्न तयारी अवस्थामै छौँ”, उनले भने ।
यसैबीच जिल्लामा हाल ५ सय ४४ सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी बनेपा नगरपालिकामा १ हजार २ सय ४९, धुलिखेलमा १ सय ३७, पनौतीमा ५९, पाँचखालमा ६३, नमोबुद्धमा ७४, मण्डनदेउपुरमा ३४ तथा रोशी गाउँपालिकामा दुई, चौँरीदेउरालीमा दुई, तेमालमा चार, भुम्लुमा चार, खानीखोलामा एक, बेथानचोकमा ११ र महाभारत गाउँपालिकामा चार सक्रिय संक्रमित रहेको केन्द्रले जनायो । रासस