कोरोना खोप लगाएकाहरुलाई क्यूआर कोडसहितको प्रमाणपत्र निः शुल्क दिन निर्देशन
काठमाडौं, ३२ साउन । सरकारले कोरोनाविरुद्धको खोप लगाएकाहरुलाई क्यूआर कोडसहितको प्रमाणपत्र निः शुल्क दिन निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गरि कोरोना भाइरसविरुद्धको खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्रका लागि कसैलाई पनि शुल्क नदिन आग्रह गरेको हो ।
खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्र लिन म्यानपावर कम्पनीहरुले शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले अनलाइनमार्फत आफैं फारम भर्न वा नजिकको स्वास्थ्य संस्थामा भर्न लगाउन आग्रह गरेको छ ।
क्युआर कोडसहितको प्रमाणपत्र आवश्यक पर्नेले खोपसम्बन्धी स्वास्थ्य मन्त्रायलयको वेबसाइटमा गएर आफैं भर्न सक्ने र आफैं भर्न कठिन भएमा नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यसेवा विभागबाट निःशुल्क सहयोग लिन सक्ने मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।
मन्त्रालयले क्युआर कोडको फारम भर्न रकम लिएर सर्वसाधारणलाई मर्का पर्ने काम नगर्न आग्रहसमेत गरेको छ ।