ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति खोपबाट वञ्चित
काठमाडौं, ३१ साउन । भौगोलिक विकटताका कारण देशका हिमाली र पहाडी जिल्लाका जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले कोरोना भाइरसविरुद्धको खोप लगाउन पाएका छैनन् । उनीहरु प्राथमिकतामा परे पनि केन्द्रसम्म पुग्न नसकेकै कारण धेरै व्यक्ति खोप लगाउनबाट वञ्चित भएका छन् ।
धनकुटाको छथरजोरपाटी गाउँपालिकामा अपाङ्गताको परिचयपत्र पाएका एक सय ६७ मध्ये ३७ जनाले मात्रै कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
प्राथमिकतामा परे पनि केन्द्रसम्म पुग्न नसकेका अरु एक सय ३० जनाले खोप लगाउन सकेका छैनन् ।
त्यस्तै, संखुवासभाका चार हजार ६ सयमध्ये अहिलेसम्म अपाङ्गता भएका चार सय जनाले मात्रै कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
अपाङ्गता भएका बाँकी चार हजार दुई सय व्यक्तिले खोप पाएका छैनन् । भौगोलिक विकटताले आफैँ केन्द्रसम्म पुग्न नसक्ने अवस्थाका जेष्ठ नागरिक र अपाङ्गता भएका धेरै व्यक्तिले खोप लगाउन सकिरहेका छैनन् ।
अधिकांश खोप केन्द्र वडा कार्यालय वा स्थानीय स्वास्थ्य केन्द्रमा राखिएको छ, जहाँसम्म जेष्ठ नागरिक पुग्न सक्दैनन् ।