मुस्ताङमा निषेधाज्ञा खुकुलो हुँदा बढ्यो कोरोनाको जोखिम



Download our app to get more features

जोमसोम, ३० साउन । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्नुपर्ने भन्दै मुस्ताङ प्रशासनले जारी गरेको निषेधाज्ञा नाममा मात्रै सीमित पाइएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको निर्णय अनुसार श्रावण ३२ गतेसम्म निरन्तरता दिइएको निषेधाज्ञा पछिल्लो समय प्रभावकारी बन्न नसकेको हो।

कोरोनाको दोश्रो भेरियन्टसँगै मुस्ताङमा गत बैशाखदेखि मुस्ताङ प्रशासनले निषेधाज्ञालाई निरन्तरता दिँदैआएको छ । स्थानीय प्रशासनले कोरोना संक्रमण फैलिनसक्ने भन्दै मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर बैशाखको दोश्रो सातादेखि बन्द गराएको थियो । पछिल्लो समय कोरोना भाइरसको तेश्रो भेरियन्टको जोखिम तथा त्रास बढिरहेको भए पनि मुस्ताङ प्रशासनले जारी निषेधाज्ञालाई कडाइ गर्न नसकेको हो । जोखिम कायमै रहेको भए पनि प्रशासनको मौनताले निषेधाज्ञा फितलो भएको सरोकारवालाहरु बताउँछन् ।

स्थानीय प्रशासनले कोरोना संक्रमणदर कम हुँदै गए पनि जोखिम यथावत रहेको उल्लेख गर्दै पछिल्लो समय श्रावण १४ गते दुई साताका लागि निषेधाज्ञा थपेको थियो । जोखिम यथावत रहेको उल्लेख गर्दै निषेधाज्ञा अवधिभर अन्तर जिल्ला सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधन चलाउन नपाइने जनाए पनि  निषेधाज्ञा उलंघन गर्दै लामो तथा छोटो दूरीका सार्वजनिक तथा निजी सवारी साधन निर्वाध रुपमा चलेका छन् ।

निषेधाज्ञाको समयमा अतिआवश्यक कामकाज बाहेक घर बाहिर ननिस्कन, जथाभावी हिँडडुल नगर्न अनुरोध गरिए पनि जोखिमको बेवास्ता गर्दै मानिसहरु हिँडडुल गरेको पाइएको छ । यस्तै, धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा अनुसार मन्दिर, गुम्बा, चैत्य, बिहार, मस्जिद र चर्च आदिमा लाग्ने पर्व, मेलामा भेला हुन् रोक लगाए पनि जिल्लामा धार्मिक मेला महोत्सव जस्ता क्रियाकलाप सञ्चालन भइरहेका छन् ।

सार्वजनिक स्थानमा खेलकुद, नाच, मेला, जात्रा, महोत्सव, भोजभतेर र भीडभाड आदि गतिविधि गर्न नपाईने निषेधाज्ञामा उल्लेख छ । तर उक्त निर्णयको बेवास्ता गर्दै मेला महोत्सव र भीडभाडको गतिविधि नरोकिदा संक्रमणको जोखिम बढ्ने सम्भावना छ । अतिआवश्यक कामकाज बाहेक अन्य जिल्लाबाट मुस्ताङ प्रवेश गर्न नपाईने भए पनि जिल्लाबाहिरबाट मानिसको आउजाउ बढेको छ ।

प्रशासनले जिल्लाका शैक्षिक संस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै परिक्षाफल प्रकाशित गर्न र नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना गर्न अनुमति दिए पनि मुस्ताङका अधिकाश विद्यालयमा सो मापदण्ड भन्दा माथि उठेर विद्यालयले भौतिक रुपमै कक्षा सञ्चालन गरेका छन् । निषेधाज्ञामा तोकिएको २ मिटरको भौतिक दूरी सार्वजनिक स्थल , पसल, टिकट काउन्टर, विद्यालयमा पालना भएको छैन ।

कोरोनाको तेश्रो भेरियन्टको जोखिम बढिरहेको बेलामा स्थानीय प्रशासनले निषेधाज्ञालाई कडाईको रुपमा कार्यान्वयन गर्न नसकेको हो । मुस्ताङमा चाडपर्व नजिकिँदै गइरहेको र स्याउ बिक्री गर्ने समय भएकाले स्थानीय प्रशासनलाई निषेधाज्ञा कार्यान्वयन गर्न चुनौती हुने देखिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts