बीपी प्रतिष्ठान तत्काल सुधार्न धरानका प्रतिनिधिको प्रधानमन्त्रीसँग माग



Download our app to get more features

धरान , ३० साउन । धरानका जनप्रतिनिधि र राजनैतिक दलका प्रतिनिधिहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधार गर्न माग गरेका छन्।  पछिल्लो समय भ्रष्टाचारको अखडा बनेको बीपी प्रतिष्ठानका व्यबस्थापन पक्षले स्वास्थ्य उपचारलाई ध्यान नदिएको भन्दै उनीहरुले प्रतिष्ठानको कुलपति समेत रहेका देउवाको ध्यानाकर्षण गराएका छन्।

जनप्रतिनिधि र दलका प्रतिनिहिरुको टोलीले प्रतिष्ठानमा भएका सबै खाले आर्थिक अनियमितिाको छानविन गर्न, हालका चारैजना पदाधिकमारी बर्खास्त गर्न र स्वास्थ्य सेवा सुधार गर्न माग गर्दै प्रधानमन्त्रीको ध्यानकर्षण गराइएको छ। शनिबार धरानका जनप्रतिनिधि, राजनैतिक दल  र धरान नागरिक दवाव सञ्जालका प्रतिनिधिहरुको संयुक्त टोलीले प्रधानमन्त्रीलाई बालुवाटारमा भेट गरी तत्काल बीपी प्रतिष्ठानलाई सुधार गरी प्रदेश १ र २ का जनतालाई सहज रुपमा स्वास्थ्य सेवा लिने वातावरण मिलाईदिन माग गरेका छन्। 

बीपी प्रतिष्ठानका उपकुलपती  डा. ज्ञानेन्द्र गिरी, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी, शिक्षाध्यक्ष डा. गुरु खनाल र निर्देशक गौरीशंकर साहले प्रतिष्ठान संचालन गर्न नसकेको र आर्थिक अनियमितता गरी प्रतिष्ठानलाई धरासायी बनाएकाले भ्रष्टाचार गर्ने सबैलाई कारवाही गरी प्रतिष्ठानलाई पहिलाकै अवस्थामा फर्काउन प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको मेयर तिलक राईले बताए। उनले प्रधानमन्त्री कार्यालयका सचिव डा. बैकुण्ठ अर्याल नेतृत्वको कार्यदलले बुझाएको बीपी प्रतिष्ठानको छानविन प्रतिबेदन तत्काल कार्यान्यन गर्न समेत प्रधानमन्त्रीलाई अनुरोध गरिएको बताए। 

'बीपी प्रतिष्ठानमा बिरामी भएर उपचारका लागि जानेलाई भर्ना नगर्ने, आइसियु, एनआइसियु सेवा विस्तार नगरेका कारण दैनिक बिरामीले उपचार नपाएर ज्यान गुमाउनु पर्ने, प्रतिष्ठानका पदाधिकारीहरु प्रतिष्ठानको स्वास्थ्य सेवा र शिक्षा सुधार गर्न छाडेर आर्थिक अनियमितताका घटनामा मुछिएका कारण प्रतिष्ठानको अवस्था कमजोर बनेको छ', नेकपा एमाले धरानका अध्यक्ष नारायण सुवेदीले भने, 'यी कुरा प्रधानमन्त्रीजी लाई जानकारी प्रधानमन्त्रीलाई गराइएको छ।'  

प्रतिष्ठानमा सहज रुपमा स्वास्थ्य उपचार नपाउँदा धरानबासीले अकालमा ज्यान गुमाउनु परेको भन्दै तत्काल प्रतिष्ठानलाई सुधार गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको जनता समाजवादी पार्टीका धरानका अध्यक्ष ताजुवले बताए। बीपी प्रतिष्ठान धरानको मात्र नभएर प्रदेश १ र २ का ५० लाख भन्दा बढी जनताको जीवनसँग जोडिएकाले प्रतिष्ठानलाई सुधार गरी जनताको जीवन रक्षा गर्न आवश्यक रहेको उनको भनाइ छ। 

जनप्रतिनिधिसँगको भेटमा प्रधानमन्त्रीले सचिव अर्यालको प्रतिवेदन अध्ययन गरेर कार्यान्यन गर्ने र आर्थिक अनियमितता गर्ने सबैलाई कारवाहीको दाहेरामा ल्याउने आश्वासन दिएको धरान नागरिक दवाव सञ्जालका सचिव कमल तिङ्गेलाले बताए। 

टोलीले  एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, कानुन मन्त्री ज्ञानेन्द्र कार्की, अर्थमन्त्री जनार्दन शर्मा लगायतलाई भेट गरी तत्काल बीपी प्रतिष्ठान सुधार गर्न माग गरेका छन्। बीपी प्रतिष्ठानका  सुधारको माग गर्दै यहाँका चिकित्सक कर्मचारीहरुले ६१ दिनदेखि आन्दोलन जारी राखेका छन्। 

बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा भएको आर्थिक अनियमितिाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारी आवश्यक कागजपत्र नियन्त्रणमा लिएको छ। अख्तियारका वरिष्ठ प्रहरी उपरीक्षक टेकबहादुर तामाङले प्रतिष्ठानमा भएको आर्थिक अनियमितता सम्बन्धि छानविन प्रकृया जारी रहेका बताए। 

Last modified on 2021-08-15 08:25:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts