डडेल्धुराको अमरगढी नगरपालिकाद्वारा कर्मचारी समायोजनमा मनपरी
डडेल्धुरा, ३० साउन । डडेल्धुराको अमरगढी नगरपालिकाले कर्मचारी समायोजनमा मनपरी गरेको आरोप लागेको छ । नगरपालिकाले ज्येष्ठताको पालो मिच्दै कनिष्ठलाई स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी दिएको आरोप लागेको हो ।
अमरगढी नगरपालिकाका सिनियर अर्थात् वरिष्ठ (ज्येष्ठ) स्वास्थ्य कर्मचारी लोकराज पनेरूले आफूमाथि अन्याय भएको आरोप लगाएका छन् । २०५१ सालमा सरकारी सेवामा प्रवेश गरेको बताउँदै उनले आफूभन्दा दुई वर्ष जुनियर कर्मचारीलाई स्वास्थ्य शाखा प्रमुख जिम्मेवारी दिइएको बताए ।
आफूलाई घटाल स्वास्थ्य चौकी अमरगढी–३ मा समायोजन गर्दै अमरगढी नगरपालिकाले स्वास्थ्य शाखा प्रमुखमा छैटौं तहका जुनियर गणेश विष्टलाई राखेको उनले आरोप लगाए । पनेरूका अनुसार विष्ट २०५३ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए ।
कर्मचारी समायोजन ऐन २०७५ को धारा ८ (२) को (क) अनुसार कर्मचारीलाई पदीय ज्येष्ठताका आधारमा समायोजन गर्ने प्रस्ट पारे पनि अमरगढी नगरपालिकाले भने त्यसविपरीत कर्मचारी समायोजन गरेको छ ।
पनेरूले ३ वर्ष तत्कालीन जनस्वास्थ्य कार्यालयमा समेत काम गरिसकेका छन् । १९ माघ २०६९ देखि २० माघ २०७२ सम्म उनले जनस्वास्थ्य कार्यालयको बालस्वास्थ्य फाँटसमेत सम्हालिसकेका छन् ।
तत्कालीन डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको निर्देशनमा स्वास्थ्य कार्यालयले २१ असार २०७४ मा अमरगढी नगरपालिकामा काजमा खटाएको थियो । सो समयमा प्रत्येक स्थानीय तहमा दुई/दुई जना स्वास्थ्यकर्मी पठाउने नीति अनुसार विष्ट र पनेरूलाई अमरगढी नगरपालिकाको जिम्मेवारी दिइएको थियो ।
सो पत्रमा संयोजक नतोकिय पनि ज्येष्ठ कर्मचारीको हिसाबमा पनेरू संयोजक र विष्ट सह–संयोजक भएर अढाई वर्ष कामसमेत गरेका थिए । पछि देश संघीयतामा गएपछि तीन जना कर्मचारीको नीति आयो । सुरुमा अमरगढीको स्वास्थ्य शाखा प्रमुखकका लागि चार जनाले आवेदन दिए ।
तर, दुई जनाले फिर्ता लिइसके पश्चात विष्ट र पनेरूको उम्मेदवारी प¥यो । त्यसपछि उनलाई घटाल स्वास्थ्य चौकीमा खटाइएयो ।
घटाल स्वास्थ्य चौकीमा खटिएको दिनदेखि विरोधका कार्यक्रम सुरु गरेका पनेरू विभिन्न निकायमा न्यायका लागि पुगिसकेका छन् । तर, आफ्नो कुरा कसैले नसुनेको उनको दुःखेसो छ । जिल्ला प्रशासन र जिल्ला समन्वयमा समेत न्यायका लागि उनको निवेदन पुगेको छ ।
दुवै ठाउँबाट सत्यतथ्य छानबिन गरि आवश्यक कारबाहीका लागि नगरपालिकालाई आग्रह गर्दा पनि ‘टेर पुच्छर’ नलगाएको उनी बताउँछन् । आफूभन्दा जुनियर कर्मचारी आफ्नो कार्य अनुगमन गर्न आउँदा आत्मग्लानी हुने उनको भनाइ छ ।
यस्तै चित्रा भट्ट उग्रतारा स्वास्थ्य चौकी पोखरामा कार्यरत छिन् । भट्टले पनि आफूमाथि अन्याय भएको बताइन् । अमरगढी नगरपालिकाको स्वास्थ्य शाखामा तीन जनाको दरबन्दी छ । दुई जना पारा मेडिक्स र एक जना नर्सिङ ।
स्वास्थ्य शाखा नर्सिङ दरबन्दीमा आफ्नो पदस्थापना हुनुपर्नेमा त्यसो नगरेर भूमिराज स्वास्थ्य चौकीमा काजमा पठाएको उनी बताउँछिन् । त्यसपछि फेरि काजमा आफूलाई उग्रतारा स्वास्थ्य चौकीमा पठाएको उनको भनाइ छ ।
‘पटक–पटक काजमा पठाइरहेको छ। जबकि काजमा एक महिनाभन्दा बढी स्वास्थ्यका कर्मचारी काजमा पठाउन मिल्दैन । र, तीन जनाको दरबन्दीमा एक जना विष्टले मात्रै काम गरिरहेको छ,’ उनले भनिन्, ‘मैले किन नपाएको ? कोभिडको समयमा स्वास्थ्य कर्मचारीलाई जोखिम भत्ता दिने भने पनि ममाथि विभेद गरिएको छ ।’
उता अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले विष्ट र भट्टको पदस्थापन आफूले गर्न नसक्ने बताए । उनले अब अब अदालतल दुवैलाई न्याय दिनसक्ने बताए ।