कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने भन्दै सबै पूर्वाधार तयारी अवस्थामा राख्न गृहको निर्देशन



Download our app to get more features

काठमाडौं, ३० साउन । सरकारले ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमितको उपचारका लागि आवश्यक तयारी गर्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै कोरोना संक्रमितको उपचारका लागि चाहिने आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज तयारी अवस्थामा राख्न निर्देशन दिएको हो । 

मन्त्रालयले शुक्रबार ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गर्दै कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने भन्दै आइसोलेसन सेन्टर, सबै अस्पताल, मेडिकल कलेज तयारी अवस्थामा राख्न परिपत्रमार्फत निर्देशन दिएको हो ।

कोरोनाको पहिलो र दोस्रो लहरको बेलामा सूचीकृत अस्पताल अहिले स्थगित गरिएकाले सम्भावित तेस्रो लहरको सम्भावनालाई मध्यनजर गर्दै अहिले अस्पताललाई सूचीकृत गर्नुपर्ने आवश्यक देखिएको भन्दै मन्त्रालयले आवश्यकताको आधारमा आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्न निर्देशन दिएको छ । 

यस्तै सूचीकृत अस्पतालको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा पठाउन पनि भनिएको छ । सूचीकृत अस्पतालमा संक्रमितको तथ्यांक र विवरण दैनिक रुपमा अनिवार्य अद्यावधिक गर्न पनि मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई भनेको छ । 

मासिक अद्यावधिक विवरण यकिन गरी त्यसै अनुसार निःशुल्क उपचार भएका संक्रमितको विवरण सम्बन्धीत अस्पताललाई सोधभर्ना गर्ने प्रयोजनको लागि मन्त्रालयमा पठाउनुपर्ने परिपत्रमा उल्लेख गरिएको छ । 

मन्त्रालयले सूचीकृत अस्पतालको नियमित सुपरिवेक्षण एवं अनुगमन गर्न पनि परिपत्रमार्फत नै निर्देशन दिएको छ ।

Last modified on 2021-08-14 14:17:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts