नुवाकोटको शिवपुरीमा अत्याधुनिक मेसिनसहित सुविधा सम्पन्न अस्पताल सञ्चालनमा
नुवाकोट, ३० साउन । नुवाकोटको शिवपुरी गाउँपालिकामा अत्याधुनिक मेसिनसहितको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ ।
शुक्रबार गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले शिवपुरी आधारभूत अस्पतालको औपचारिक उदघाटन गरेका हुन । गाउँपालिकाका अध्यक्षले एक्सरे तथा भिडियो एक्सरे गर्दै उक्त स्वास्थ्य केन्द्रको उदघाटन गरेका हुन् ।
भौगोलिक विकटता भएको शिवपुरी गाउँपालिकाका नागरिकहरुलाई स्वास्थ्य उपचारार्थ गर्न जानुपर्ने भएपछि गाउँपालिकाले विविध सुविधासहित आधारभूत अस्पताल सञ्चालमा ल्याएको हो । गाउँमै सुविधा सम्पन्न अस्पताल संचालनमा आएसँगै स्थानियहरु खुशी भएका छन् ।
गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले स्थानीय तह संचालनमा आएसँगै गाउँपालिकाले शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको बताए ।
गाउँपालिकामा हाल मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब असिस्टेन्ट,रेडियो ग्राफरसहित १२ जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् । डिजिटल एक्सरे, भिडियो एक्सरे ल्याब सहितको अस्पताल सञ्चालनको लागि गाउँपालिकाले आवश्यक जनशक्ति समेत तयारी गरेको छ।