सरकारले बालबालिकाका लागि ४० लाख डोज खोप किन्ने
काठमाडौं, २९ साउन । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोर किशोरीहरुका लागि लक्षित गरी मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको छ । उक्त खोप आगामी मार्च २०२२ सम्म नेपाल आइपुग्ने बताइएको छ ।
विश्व बैंकको वित्तिय सहयोगमा कोभ्याक्ससँग लागत साझेदारीमार्फत खरिद गरिने खोपका लागि खोप सम्बन्धित विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता भएको हो ।
‘यो खोपले १२ बर्ष उमेर माथिका नेपालीलाई खोपको विकल्प विस्तार गर्न मद्दत गर्ने छ ।’ - स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले भने ।
कोरोना महामारी विरूद्धको स्वास्थ्य प्रतिकार्यका लागि विश्व बैंकले १०४ मिलियन डलर उपलब्ध गराएको छ, जसमध्ये ६७.५ मिलियन खोेप खरिद र विस्तारमा खर्च हुने बताइएको छ ।