जिल्ला अस्पताल अछाममा भवनसँगै चिकित्सक अभाव



Download our app to get more features

अछाम, २८ साउन । जिल्ला अस्पताल अछाममा भवनको अभावसँगै आवश्यक स्वास्थ्यकर्मीको अभाव भएपछि बिरामीको उपचारमा समस्या भएको छ। कोरोना महामारीका बिच सिमित स्रोत साधनका भरमा रहेको अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक पनि नहुँदा सकस भएको हो । 

कोरोना महामारीकै अवधिमा थुप्रै उपकरण र स्वास्थ्य सामग्री जुटाएको अस्पतालमा भवन र दरबन्दी अनुसारका मेडिकल अधिकृत, विशेषज्ञ तथा स्वास्थ्यकर्मी छैनन्। भवनसँगै दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा अपेक्षाकृत रूपमा सेवा दिन समस्या भएको अस्पतालले जनाएको छ । 

सम्भावित तेस्रो लहरको खतरा बढीरहेको बेला आइसियू र भेन्टिलेटर सञ्चालनका लागि आवश्यक मेडिकल अधिकृतको अभाव भएको अस्पतालले जनाएको छ । जिल्ला अस्पतालमा ३ जना डाक्टरसहित ५५ जना स्वास्थ्यकर्मीको दरबन्दी भएपनि हाल ९ जना मात्र स्वास्थ्यकर्मीहरूले सेवा दिइरहेका छन् । यस्तै अस्पतालमा ल्याब टेक्निसीयन समेत नहुँदा उपचारमा थप समस्या भएको छ । 

करिब ४० वर्ष अगाडि बनेको अछाम अस्पतालको पुरानो भवन जीर्ण भइसकेको छ । भवनमा १५ शैैयाको क्षमता भएपनि हाल ५० शय्यामा रुपान्तरण गर्ने सरकारको लक्ष्य अनुसार कुनै काम अगाडि नबढ्दा बिरामीहरूलाई उपचारमा निकै कठिन भएको हो ।

प्रदेश सरकारबाट प्राप्त भएका १० वटा आइसियू बेड र अन्य साधारण गरी ३५ वटा बेड संरचना अभावमा अस्पतालको कुनामा थन्क्याइएका छन् । अस्पतालमा भवन अभावका कारण बिरामीहरूले राम्रो सेवा नपाएको स्थानीय सिद्धप्रसाद ढुङ्गानाले बताए । 

कोरोना संक्रमित, ज्वरो, दम, झाडापखाला, रुघाखोकी जस्ता बिरामीहरू ठुलो संख्यामा आउन थालेपछि आवश्यक उपकरण जडानमा कठिनाई हुनुका साथै स्टोर रुमको समेत अभावमा उपकरण थन्क्याउनु पर्दा गुणस्तरीय सेवा दिन कठिन भएको अछाम अस्पताल प्रमुख डाक्टर सोनाली बास्कोटाले बताइन् । 

अछाम अस्पतालमा दैनिक एक सय ५० देखि १ सय ६० जनाको संख्यामा बिरामीहरू आउने गरेको र यसै महिना मात्र २२ जना सुत्केरीको शल्यक्रिया गरेको उनले बताइन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts