बाजुरामा अस्पताल भर्ना हुने बालबालिकाको संख्या बढ्यो
बाजुरा, २८ साउन । बाजुरामा ५ वर्षमुनिका बालबालिका अस्पताल भर्ना हुने क्रम बढेको छ ।
साउन १५ गतेदेखि हालसम्म ३७ जना बालबालिकालाई अस्पतालमा भर्ना गरेर उपचार गरिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश जोशीले बताए ।
बुधबार पत्रकारहरुसँग कुरा गर्दै उनले सबै बालबालिकामा कोरोनाको जस्तै लक्षण देखिएको बताए ।
प्रायःजसोमा ज्वरो आउने, स्वासप्रस्वासको समस्या हुने, झाडापखाला लाग्ने जस्ता लक्षण देखा परेको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए ।
भर्ना भएका ३७ बालबालिका मध्ये ३० जना निको भएर घर फर्किएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
यस्तै १ जनाको अस्पतालमा उपचार सम्भव नभएर रेफर गरिएको छ ।