बझाङको चैनपुरमा मास्क वितरण : मास्क नलगाउनेलाई कारबाही गरिने
बझाङ, २८ साउन । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै हो आजको आवश्यकता’ भन्ने मुल नाराका साथ आज बझाङको चैनपुर बाजारमा जनचेतनामूलक कार्यक्रम सहित माक्स वितरण गरिएको छ । कोभिड–१९ संक्रमणको रोकथामका लागि मास्कको महत्त्व बुझाउन र आम नागरिकमा मास्कको सही प्रयोगबारे जनचेतना जगाउने उद्देश्यले अभियान अन्तरगत बुधवार मास्क बितरण गरिएको हो ।
बझाङ जिल्लामा कोभिड १९ को पूर्व तयारीलाई तिब्रता दिइएको छ । विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरु एक जुट भएर कोभिड १९ को पुर्व तयारीमा जुटेका हुन् । तेस्रो लहरको कोरोना रोकथामका लागि जिल्लामा रहेका कामकार, बालबाललिका, गर्भवती महिला तथा आम नागरीकहरुलाई स्वास्थ्यका मापदण्डको पालना गराउने उदेश्यले जिल्लाको सदरमुकाम चैनपुरमा मास्क वितरण गरिएको हो ।
बझाङस्थित नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्य कार्यालयलगायत अन्य सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले मास्क वितरण गर्दै स्वास्थ्य मापदण्डको पालना अनिवार्यरुपमा गर्न र गराउनु पर्ने भन्दै प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी सहितको टोलीले मास्क वितरण गरेको हो ।
सोमबार बसेको डिसिसिएमसीको बैठकले अनिवार्यरुपमा स्वास्थ्य मापदण्डको पालना गराउनु पर्ने निर्णय गरेसंगै जिल्लामा सचेतना फैलाउनका लागि मास्कहरु वितरण गरिएको हो । सुरु सुरुमा मास्क वितरण गरेर स्वास्थ्यका मापदण्डहरु पालना गर्न लगाउने र पछि मापदण्डहरु पालना नगरेको पाइएमा संक्रमण रोग ऐन २०२० अनुसार कार्वाही गरिने प्रजिअ अधिकारीले जानकारी दिए । अभियानमा नेपाल प्रहरी, शशत्र प्रहरी, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि तथा जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्र बहादुर खड्का, स्वास्थ्य कार्यालयका अधिकारीहरु सहितको टोली सहभागी रहेको थियो ।
स्वास्थ्यका मापदण्डको पालना गर्नका लागि बजारमा प्रहरी सहित परिचालन गरीएको प्रहरी नायब उपरिक्षक रुपक खड्काले बताए । साथै उनले सबैले स्वास्थ्यका मापदण्डको पालना गरी कोभिडबाट आफु सुरक्षित हुन र अरुलाई पनि सुरक्षित राख्न आग्रह गरे ।