सरकारले अक्सिजन उद्योगलाई दिएको सहुलियत कार्यक्रम कार्यन्वयनमा
काठमाडौं,२७ साउन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अक्सिजन उद्योगहरुलाई दिइने सहुलियत कार्यन्वयनमा ल्याएको छ ।
मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै तरल अक्सिजन उत्पादन गर्ने उद्योगलाई एक प्रतिशत ब्याजको विशेष पुनर्कर्जा, पाँच वर्षसम्म विद्युत डिमाण्ड शुल्कमा छुट तथा उद्योगको पूर्वाधारमा विकासमा ७५ प्रतिशत अनुदान दिने भएको हो ।
सूचनामा अक्सिजन उद्योगका लागि निर्माण हुने सडक, खानेपानी, ढल र विद्युतीय पूर्वाधारको ७५ प्रतिशत खर्च सरकारले ब्यहोर्ने र उद्योग स्थापना भएको तीन वर्षसम्म आवश्यक मेसिनरी उपकरण आयातमा लाग्ने भन्सार, अन्तःशुल्क र भ्याट छुट यस्ता उद्योगले छुट पाउने बताएको छ ।
त्यस्तै बिद्युत महसुलमा पनि अक्सिजन उद्योगलाई छुटको घोषणा गरिएको छ । पाँच वर्षसम्म २ मेगावाटसम्म प्रयोग गरे बिजुली महसुलमा ४० प्रतिशत र २ मेगावाटभन्दा बढी खपत गरे ५० प्रतिशत महसुल छुट गराइने राजपत्रमा उल्लेख छ ।
मन्त्रालयले पीएएस प्रविधिमा आधारित अक्सिजन उद्योग पनि तरल अक्सिजन उत्पादनमा गए यो सुविधा पाउन सक्ने व्यवस्था गरिएको बताएको छ ।