सरकारले दिने भयो विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप
काठमाडौं,२७ साउन। त्रिभुवन विश्व विद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी हुने विद्यार्थीहरुले कोभिड–१९ विरुद्धको खोप पाउने भएका छन् ।
सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई कोरोना खोप दिन लागेको हो । स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा.झलक शर्मा गौतमले भने, "हामिले परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई खोप दिन लागेका हौ, कहिले देखि खोप सञ्चालन हुन्छ भन्ने कुरा जिल्ला स्वास्थ्य कार्यलयले निर्णय गर्छ ।"
गौतमका अनुसार काठमाडौंको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाउन सक्ने छन् ।
खोप लगाउन जादा विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र साथमा लैजानुपर्छ । त्रिविले सञ्चालन गर्ने परीक्षामा करिब ६० हजार विद्यार्थी रहेको अनुमान गरेको गौतमले बताएका छन् ।
साउन २५ गते सत्तारुढ दल निकट पाँच विद्यार्थी संगठनहरुले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी परीक्षामा सहभागी हुने विद्यार्थीलाई खोपको व्यवस्था गर्न भन्दै ज्ञापनपत्र बुझाएका थिए । त्यसयता विद्यार्थीहरुले परीक्षार्थीलाई खोपको व्यवस्था गर्न माग गर्दै आन्दोलनहरु गरिरहेका थिए ।