चितवनमा १ लाख १९ हजारभन्दा बढीले लगाए कोरोनाको पहिलो खोप, केहीको दोस्रो डोज बाँकी



Download our app to get more features

चितवन, २७ साउन । चितवनमा अहिलेसम्म  १ लाख १९ हजारभन्दा बढीले कोरोनाविरुद्धको पहिलो खोप लगाएका छन् । 

जिल्लाभर सबै केन्द्रबाट गरी अहिलेसम्म १ लाख १९ हजार ९ सय ६० जनालाई कोरोनाविरुद्धको पहिलो मात्रा लगाइएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार त्यसमध्ये अधिकांशले दोस्रो मात्रा समेत लगाइसकेका छन् । 

जिल्लामा भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिशिल्ड’, चिनियाँ कम्पनीको ‘भेरोसिल’ र एक डोज मात्रै लगाए हुने जोन्सन एन्ड जोन्सन कम्पनीको ‘ज्यान्सिन’ गरी ३ किसिमको कोरोनाविरुद्धको खोप सञ्चालन गरिएको उनले बताए । 

तिवारीका अनुसार कोभिशिल्डको खोप लगाएका ३९ हजार ८ सय ७९ मध्ये १३ हजार १ सय ७२ जनाले खोपको दुवै मात्रा लगाइसकेका छन् । बाँकीलाई यहि साउन २८ र २९ गते एस्ट्राजेनेकाको दोस्रो मात्रा खोप लगाउन लागिएको छ । भेरोसिलको खोप लगाएका ८० हजार ८१ जना मध्ये २७ हजार ५ सय ६ जनाले आइतवारसम्म दोस्रो मात्रा लगाइसकेका छन् । बाँकी केहीलाई सोमबार र मंगलबार समेत दोस्रो मात्राको खोप लगाइएको छ । 

त्यसबाहेक गत साउन ११ गतेदेखि १४ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाएका २५ हजार ६ सय ६० जनालाई भने अब भदौ १ देखि ३ गतेसम्म दोस्रो मात्रा लगाइँदैछ । त्यसैगरी एक डोज मात्रै लगाए हुने जोन्सन एन्ड जोन्सन कम्पनीको ‘ज्यान्सिन’ खोप ३७ हजार ३ सय ५९ जनाले पूर्ण मात्रामा लगाएका छन् ।

जिल्लाभर अहिलेसम्म पहिलो मात्रा लगाएकाहरूलाई यहि भदौ पहिलो साताभित्र दुवै मात्रा लगाई सकिने तिवारीले बताए । 

खोप लगाएपछि पनि कोरोना संक्रमण हुन्छ ?
विज्ञहरूका अनुसार कोरोनाविरुद्धको खोप लगाएकाहरू मध्ये पनि केहि व्यक्तिहरुमा कोरोना संक्रमण हुन सक्छ । तर खोप लिएपछि कोरोना संक्रमण भएतापनि यसबाट गम्भीर बिरामी पर्ने सम्भावना निकै कम हुन्छ । त्यसैले खोप लिएपछि पनि अनावश्यक रूपमा बाहिर नजाने, भिडभाडमा नजाने तथा नबस्ने, मास्कको अनिवार्य प्रयोग गर्ने, एक अर्कामा २ मिटरको दुरी कायम गर्ने, बेलाबेलामा साबुन पानीले हात धुनेजस्ता स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पूर्णरूपमा पालना गर्नुपर्छ ।

Last modified on 2021-08-11 12:20:16

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts